
पाँचथर । हिमाली तथा उच्चपहाडी क्षेत्रमा पाइने सौन्दर्य जनावर हुन्, चौरी । चौंरी गोठ, चौंरीका बथान र चौंरीजन्य उत्पादनले चौंरी कृषकको आय आर्जनलाई बढाउँछ । सँगै त्यहाँको प्रकृति र परिवेशको सुन्दरतामा चमक पनि थपिदिन्छ । पूर्वोत्तर पाँचथरको उच्च भू–भागमा चौंरीपालने संस्कृतिले पुस्तौंदेखि निरन्तरता पाउदै आएको छ ।
यद्यपी पछिल्लो समय चौंरीपालन व्यवसाय धराशायी बन्दै गएको स्थानीयको भनाइ छ । संकटोन्मुख अवस्थामा पुगेको चौंरी संस्कृतिलाई जोगाउन स्थानीय तह र निजी क्षेत्रको संयुक्त पहलमा अभियान सुरु भएको छ । चौंरीपालन व्यवसायलाई प्रवद्र्धन गर्न स्थानीय तहले हरेक वर्ष चौंरी पर्यटन महोत्सव गर्दै आएको छ । त्यस्तै, पालिकाबाट चौंरीपालक कृषकका गोठसम्म पशु चिकित्सक उपलब्ध गराउने गरेको फालेलुङ गाउँपालिकाका उपाध्यक्ष महेन्द्रहाङ जबेगुले बताए ।
स्थानीयका अनुसार चौंरीपालन व्यवसाय गरिँदै आएको फालेलुङ र यांवरक गाउँपालिकामा ५० को दशक सुरुवातसम्म ३५ सय चौंरी थिए । अहिले त्यो संख्यामा घटेको छ । तीन दशकको अन्तरालमा फालेलुङतर्फ रहेका ३० गोठ र यांवरकतर्फ रहेका १३ गोठ गरी कुल ४३ गोठमा १ हजारको संख्यामा मात्र चौंरी रहेका सरकारी तथ्यांक छ । युवापुस्ता वैदेशिक रोगजारीमा जाने प्रवृति बढ्नुका साथै अध्ययन र अन्य रोजगारीको सिलसिलामा गाउँबाट पलायन हुने चलनले चौंरीपालन व्यवसाय घट्दै गएको स्थानीयको बुढा पाकाको भनाइ छ ।
चौंरीपालनलाई शून्य हुन नदिन गरिँदै आएको महोत्सवको छैठौं संस्करण हालै सम्पन्न भयो । ३ हजार ४ सय मिटर उचाइको नेपाल–भारत सीमावर्ती फालेलुङ–४, चाररातेमा ६ वर्ष अघिदेखि महोत्सव हुँदै आएको छ । महोत्सवले चौंरीपालन व्यवसायलाई सहयोग पु¥याएको चौंरीपालक कृषक चन्द्रलाल नेपाल बताउँछन् । बर्सेनि आयोजना हुने महोत्सवकै कारण फालोट क्षेत्र जोड्ने प्रांबुङ–सन्दकपुर सडक स्तरोन्नती भएको छ । २०३२ सालमै भारततर्फबाट खनिएको यो सडक पहिले एकदमै अव्यवस्थित थियो ।
सडकका कारण फालोट क्षेत्र पुग्ने पर्यटक बढे । जहाँ चौंरी गोठ छन् । पर्यटकको अवागमन बढेसँगै परम्परागतरूपमा रहेका साँघुरा चौंरीगोठ पर्यटकलाई सत्कार गर्न र बास बसाउन सहज हुनेगरी पर्यटनमैत्री ‘गोठस्टे’मा रूपान्तरण भए । पहिले यहाँ उत्पादित चौंरीजन्य वस्तु (नौनी, छुर्पी र चीज)को बजार भारत पश्चिमबंगलको दार्जिलिङ निर्भर थियो । अहिले यहाँको चौंरी जन्य उत्पादन पोखरा, काठमाडौसँगै अमेरिकामसम्म व्यापारीमार्फत पुग्ने फालेलुङ–कञ्चनजंघा पर्या–पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष डिल्ली केरुङ बताउँछन् ।
महोत्सवको अवसरमा ४ वर्षअघि चारराते पुगेका भुटानी चौंरीपालकले यहाँका चौंरीको नश्ल सुधारका लागि २ वटा याक उपहारस्वरूप उपलब्ध गराए । ती भुटानी याकबाट हालसम्म ५० बढी चौंरी जन्मेका चौंरीपालक कृषक नगेन्द्र रिजाल बताउँछन् । तसर्थ, महोत्सवले कृषकको गोठ–गोठसम्म ठुलै फाइदा पु¥याउन बाँकि रहे पनि चौंरीपालक व्यवसायलाई प्रोत्साहन गरिरहेको महोत्सव सहआयोजक दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तावाले बताए । यसलाई निरन्तररूपमा व्यवस्थित गर्दै लगिने फालेलुङ गाउँपालिकाका उपाध्यक्ष जबेगुको भनाइ छ ।
चौंरीका याक, उराङ, फोम्जो, गार, गिर, डिम्जो, तोले लगायतका प्रजाति हुन्छन् । चौंरीको दूधबाट उत्पादित नौनी, छुर्पी, चिज त्यस्तै रौंबाट तयार पारिने कपडा, पुच्छरबाट तयार पारिने चम्मर साथै भारी बोकाउने काम गरेर चौंरीपालक कृषकले आम्दानी लिन्छन् । चौंरीपालन व्यवसाय पाँचथरसँगै कोसी प्रदेशका ताप्लेजुङ, इलाम, संखुवासभा, सोलुखुम्बुसहित नेपालको अन्य प्रदेशका विभिन्न २८ जिल्लामा गरिने बताइएको छ ।
