प्रचण्ड हराएको सूचना पढ्दै एमाले सांसदको ठट्टा

३ बैशाख २०८०, आईतवार १४:४५

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदमा नदेखिएकाले आउन छाडेको भन्दै नेकपा एमालेका सांसद रघुजी पन्तले बैठकमै प्रचण्ड हराएको सूचना सुनाएका छन् ।

आइतवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा एमाले सांसद पन्तले व्यंग्यात्मक शैलीमा प्रचण्ड हराएको सूचना सुनाउँदै फेला पार्नेले संसद् भवनमा बुझाइदिनु भनेर ठट्टा गरेका हुन् ।

सांसद पन्तले यसरी गरे व्यग्यः

नागरिकताको नामः श्री पुष्पकमल दाहाल ।

चलनचल्तीको नामः प्रचण्ड

स्थायी ठेगानाः फेरिइरहने

अस्थायी ठेगानाः कहिले बालुवाटार, केहिले खुमलटार

हुलियाः पहिले कोट पाइन्ट लगाउने, अहिले दौरा सुरुवाल र टोपी पनि लगाउने ।

उमेरः ६५ नाघेको ७० नपुगेको जस्तो देखिने ।

उहाँ केही दिन अगाडि प्रतिनिधि सभा बैठकका झुलुक्क देखिएर हाल संसदमा आउनै छाडेकाले उहाँलाई फेला पर्नु हुने व्यक्तिले संसद् भवनमा बुझाइदिनु होला ।

अन्तिमपटक देखिएको स्थान बालुवाटारको छेउछाउ ।

एमाले स्थायी कमिटी सदस्य समेत रहेका रघुजी पन्त संसदीय व्यवस्था बुझेका पाका सांसद मानिन्छन् ।