रवि लामिछाने जनतामा भ्रम छर्दै हिँडेको नेकपा एमालेका सचिव योगेश भट्टराईले बताएका छन्।
चितवनमा आइतबार बिहान पत्रकार सम्मेलनमा बोल्दै उनले लामिछानेले बैशाख १० गते हुने निर्वाचनमा जिते पुनः उपनिर्वाचन हुने निश्चित रहेको दाबी गरेका हुन्। सुशासन र भ्रष्टाचारको नारा बोकेर हिँड्ने लामिछानेको चरित्र उदाङ्ग भएको उनले टिप्पणी गरे। गृहमन्त्री हुँदा लामिछानेले सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्का दिएको कुराले उनको चरित्र प्रष्ट भएको बताए।
लामिछानेको भर्जिनिटी समाप्त भएको उनको भनाई छ। ‘उहाँको भर्जिनिटी समाप्त भइसक्यो , उहाँ अर्गानिक हुनुहुन्न। गृहमन्त्री भएर छोटो समयमा गरेको कामले नै प्रष्ट पारे।’ उनले भने , ‘मन्त्री छोड्नु अघिल्लो रात सार्वजनिक खरिद ऐनविरुद्ध ठेक्काको निर्णय भएको छ। हामी माथि सुशासनको कुरा उठाउने लामिछानेले गरेको कामले उनैको धज्जी उडायो।’
नागरिकताको विषयमा लामिछानेले गल्ती नभई राज्यलाई ढाटेको बताए। ‘लामिछानेले गल्ती गरेको होइन ढाँटेको हो। समाजलाई ढाट्नु अपराध हो।’ भट्टराईले भने ,‘यो पाँच वर्ष ढाँटेको कुरामा प्रायश्चित गरेर बस्न पर्थ्यो। तर उहाँ जनतामा उल्टै भ्रम छरेर बस्नु भएको छ। ’
नागरिकता प्रकरणमा लामिछाने दोषी देखिपछि सर्वोच्च अदालतले उनको पद खारेज गरेको थियो। बैशाख १० गते चितवन-२ मा उपनिर्वाचन हुँदैछ। एमालेबाट रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन्।
