वाणिज्य महासंघको निर्वाचन मतगणना क्रममै रोकियो

३० चैत्र २०७९, बिहीबार १०:४१

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्षको एसोसिएटतर्फको मतगणना रोकिएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा केही बेरदेखि मतगणना रोकिएको हो ।

मतपत्रमा ठिक चिह्न लगाउनुपर्ने ठाउँमा ‘बी’ लेखेको भेटिएको निर्वाचन अधिकारीले जनाएका छन् । सोही कारण विवाद हुँदा मतगणना रोकिएको हो । मुख्य निर्वाचन अधिकृत भने खाना खान गएका छन् । विवाद मिलाउने प्रयास जारी छ ।वरिष्ठ उपाध्यक्षतर्फ कुल एक हजार ६०० मत खसेको बताइएको छ । अहिलेसम्म एक हजार २०० मत गनिएको छ ।त्यसमध्ये रामचन्द्र संघाईले ४५२ मतसहित अग्रता बनाएका छन् । अन्जन श्रेष्ठले ४१७ र उमेशलाल श्रेष्ठले ३१७ मतसहित उनलाई पछ्याइरहेका छन् ।जिल्ला नगर, वस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरूको भने नतिजा सार्वजनिक भइसकेको छ ।

एसोसिएटतर्फ वरिष्ठ उपाध्यक्षमा ३० प्रतिशत मतभार हुन्छ । जिल्लानगरमा ५० तथा वस्तुगतमा २० प्रतिशत हुन्छ ।