
गएको शुक्रबार प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले ‘नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो एनेसलाई यथाशीघ्र श्रम स्वीकृति दिन’ सरकारको ध्यानाकर्षण गराइन् । त्यो विषयलाई उनले सामाजिक सञ्जालमा पनि प्रमुखताका साथ पोस्ट गरिन् । त्यस अनुसार, गलत प्रक्रियाको कामलाई सदर गर्नका लागि उनले दबाब दिएकी छन् ।
प्रतिनिधिसभा कानुन निर्माण गर्ने सर्वोच्च निकाय हो । व्यवस्थापिकाका रूपमा रहेको संसद्ले सरकारका काम–कारबाहीको निगरानी गर्ने, अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको अनुमोदन गर्ने, राज्यकोषमाथि नियन्त्रण, सरकार गठन र विघटन तथा बजेट स्वीकृत गर्ने काम गर्छ ।
त्यही व्यवस्थापिकाको एक सांसदले नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ ९एन्फा०ले गलत प्रक्रिया अवलम्बन गरी गरेको कामलाई चाँडोभन्दा चाँडो वैधानिकता दिन सरकारसँग माग गरिन् ।
“मुख्य प्रशिक्षकले खेल खेलाएर त्रिदेशीय कपसम्म जिताइसके । तर, अहिलेसम्म पनि उनले श्रम स्वीकृति पाउन सकेका छैनन् । यत्रो समय भइसक्दाखेरि पनि श्रम स्वीकृति किन पाएका छैनन् रु यो अचम्मको विषय त हुँदै नै हो, तर यो खेलप्रतिको उदासीनता पनि हो । विसंगति पनि हो, विकृति पनि हो । अव्यवस्था पनि हो,” उनले संसद्मा भनेकी थिइन्, “खेल जितेको बेला खुजुरा पैसाको बिटो लगेर मात्रै खेलप्रतिको सम्मान हुँदैन, सभामुख महोदय । त्यसैले खेलप्रतिको सम्मान गर्ने हो भने म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । म सम्माननीय सभामुखमार्फत ध्यानाकर्षण गराउन चाहन्छु कि यो हाम्रो अव्यवस्थाको मारभित्र मुख्य प्रशिक्षक नपारीकन उनको श्रम स्वीकृति दिलाउनुपर्छ र उनलाई तलबभत्ताको व्यवस्था सुनिश्चित गर्नुपर्छ ।”
उनले सरकारको आलोचना गर्दै विसंगति, विकृति र अव्यवस्था भएको आरोप लगाइन् । तर, यसो भनिरहँदा उनले सरकारलाई विसंगति, विकृति र अव्यवस्थित कार्य गर्नका लागि दबाब दिइन् ।
एन्फाकै पदाधिकारीले मुख्य प्रशिक्षक अल्बर्टो एनेसको श्रम स्वीकृतिका लागि आफूहरूको प्रक्रिया गलत भएको स्वीकार गरेका छन् । यही चैत २३ गते एन्फा सचिवालयका एक प्रभावशाली पदाधिकारीले आफूहरूको प्रक्रिया गलत भएको बाह्रखरीसँग बताएका थिए ।
“विदेशी प्रशिक्षक ल्याउँदा नेपाल ल्याउनुभन्दाअघि नै श्रम स्वीकृति गरेर ल्याउनुपर्थ्यो भन्ने तर्क छ,” एन्फाका ती पदाधिकारीले भने, “हाम्रो प्राविधिक कमजोरी भयो । नयाँ खेलकुद ऐनानुसार विदेशी प्रशिक्षक ल्याउँदा श्रम स्वीकृति गरेर ल्याउनुपर्ने रहेछ । ल्याउनुभन्दाअघि हामी विदेशी प्रशिक्षक ल्याउँदै छौँ भन्ने जानकारी गराएर ल्याएपछि ल्यायौँ भन्नुपर्ने प्रक्रिया रहेछ । हामीकहाँ पहिले यसरी नै चलिरहन्थ्यो । त्यसमा हाम्रो कमजोरी भयो । मन्त्रालयमा पुगिसकेपछि श्रम स्वीकृति नहुने भन्ने त हुन्न, तर कागजपत्र मिलाउँदा अलिकति ढिला भयो ।”
एन्फाले अहिले मुख्य प्रशिक्षकको श्रम स्वीकृतिका लागि पूर्वस्वीकृति मागेको छ । त्यो फाइल राष्ट्रिय खेलकुद परिषद् ९राखेप० हुँदै युवा तथा खेलकुद मन्त्रालयका सहसचिवको टेबलमा पुगेको छ ।
राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार संघ–संस्थाले विदेशी प्रशिक्षक नियुक्त गर्नुपरेमा राखेपमार्फत सरकारसँग स्वीकृति लिनुपर्छ । त्यसपछि मात्र नियुक्त गर्नुपर्छ । तर, एन्फाले इटालियन प्रशिक्षक एनेसलाई नियुक्त गरिसकेपछि मात्र राखेपसँग स्वीकृति माग्यो ।
“एन्फाले पहिले मनोनयनका लागि स्वीकृत गरिदिनका लागि यहाँ पत्र पठाएको थियो । हामीसँग नसोधी उहाँहरूले त्यस्तो गर्न मिल्दैन भनेर हामीले पत्र लिएनौँ । त्यसपछि पूर्वस्वीकृतिका लागि भनेर पत्र पठाएको थियो । त्यो राखेपको कार्यकारी समितिबाट निर्णय गरेर मन्त्रालय पठाएका छौँ,” राष्ट्रिय खेलकुद परिषद्को संघ–संस्था विभागका प्रमुख चन्द्र राईले भने, “पूर्वस्वीकृति लिएपछि बल्ल श्रम स्वीकृतिका लागि आउनुपर्छ । तर, त्यसपछि उहाँहरू श्रम स्वीकृतिका लागि यहाँ आउनुभएको छैन ।”
गएको फागुन ३० गते एन्फाले अल्बर्टो एनेसलाई औपचारिक रूपमा सार्वजनिक गरेको थियो । एनेसले चैत ५ गतेदेखि त्रिदेशीय कपका लागि प्रशिक्षण सुरु गरेका थिए ।
कुनै पनि विदेशी नागरिक नेपालमा आएर काम गर्दा यहाँको श्रम स्वीकृति लिनुपर्ने प्रावधान । एन्फाले सञ्चालन गर्ने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पनि विदेशी खेलाडी खेलाउन श्रम स्वीकृति लिनुपर्ने व्यवस्था छ । श्रम स्वीकृति नलिई खेलाडीलाई लिगमा खेल्न र प्रशिक्षकलाई ‘टच लाइन’मा बस्न दिइँदैन । श्रम स्वीकृति नमिलेकै कारण चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक प्रदीप हुमागाईँले चैत २२ गते क्लबबाट अलग भएको घोषणा गरेका थिए ।
एन्फा आफैँले भने त्यो नियम लत्याएको छ । श्रम स्वीकृति नै नलिएका मुख्य प्रशिक्षक अल्बर्टो एनेसबाट प्रशिक्षण गराएको छ । प्रधानमन्त्री त्रिदेशीय कपमा नेपालको टच लाइनमा बस्न दिएको छ । ‘फिफा डे’मा खेलाइएको प्रतियोगिताको ‘लाइनअप’ र ‘म्याच रिपोर्ट’मा बकाइदासँग अल्बर्टो एनेसको नाम उल्लेख छ ।
एन्फाले अहिले बल्ल अल्बर्टो एनेसलाई नियुक्त गर्नका लागि सरकारसँग पूर्वस्वीकृति मागेको छ । तर, रास्वपा सांसद गौतमले एक कदम अगाडि बढेर नियुक्ति प्रक्रिया नै नपुर्याइएको प्रशिक्षकलाई श्रम स्वीकृति दिनका लागि सरकारसँग माग गरिन् ।
अहिले एन्फा पदाधिकारीले नै भन्न थालेका छन्– हामीले थालेको प्रक्रिया नै उल्टो भएको छ । यसानुसार पनि श्रम स्वीकृत भयो भने कि ठूलो आर्थिक चलखेल हुनुपर्छ कि माथिल्लोस्तरबाट दबाब आउनुपर्छ । होइन भने श्रम स्वीकृति दिने विभागले त्यो आँट गर्दैन ।
रास्वपाका सदस्यसचिव टंकलाल घिसिङले पनि एन्फाले थालेको प्रक्रिया गलत भएको स्वीकार गरे । उनले भने, “उहाँहरूले नियुक्तिका लागि पूर्वस्वीकृति लिनुपर्ने हो । तर, नियुक्त गरिसकेपछि स्वीकृतिका लागि आउनुभयो । त्यसो हुँदा हामीले किन यस्तो गरेको भनेर रोक्ने कुरा पनि भएन । उहाँहरू अहिले पूर्वस्वीकृतिका लागि आउनुभएको थियो । हामीले स्वीकृति दिएर मन्त्रालयमा पठाएका छौँ ।”
