प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार संक्रमणकालीन सरकारजस्तै भएको अरुण सुवेदी टिप्पणी

२९ चैत्र २०७९, बुधबार ११:५६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार संक्रमणकालीन अवस्थामा रहेको अरुण सुवेदीले बताएका छन् ।

मंगलबार प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै राजनीतिक विश्लेषक सुवेदीले अहिलेको सरकार संक्रमणकालीन सरकारजस्तै भएको टिप्पणी गरेका हुन् । साथै, नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको उनले दाबी गरे ।

उनले भने “निर्वाचन भयो । निर्वाचन हुँदा आफैं पनि देश संक्रमण कालमा हुन्छ । दीर्घकालीन नीतिहरु तर्जुमा भएनन् । दीर्घकालीन नीति र अल्पकालीन नीति तर्जुमाका लागि पोहोर साउनदेखि अहिलेसम्म संक्रमणकालीन सरकारजस्तै भइराखेको छ ।”

प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक सय दिनको अवधिमा कुनै उपलब्धी हासिल गर्न नसकेको उनको टिप्पणी छ । प्रधानमन्त्रीले सय दिनमा सत्ता समीकरण परिवर्तन गर्ने बाहेक अन्य कुनै काम नगरेको उनको दाबी छ ।

‘प्रधानमन्त्रीका सय दिन त बिते । सय दिनका हनिमुन पिरियड फेरा लगाउँदामा मात्रै बितेजस्तो छ । जग्गे घुम्नेमा मात्रै वितेजस्तो छ,’उनले भने ।
उनी पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका विदेश मामिला सल्लाहकार समेत हुन् ।