शीतल निवासमा फोहोर नउठेपछी आयो फोन !

२७ चैत्र २०७९, सोमबार १३:२१

राष्ट्रपति कार्यालयले सोमबार बिहान फोहोर व्यवस्थापन गर्ने निजी संस्थालाई फोन गरेर फाहोर उठाइदिन अनुरोध गरेको छ ।

शीतल निवास र त्यस वरपरको क्षेत्रबाट फोहोर संकलन गर्ने परिवर्तन सेवा प्रालिलाई शीतल निवासले टेलिफोन गरेर फोहोर उठाइदिन भनेको हो ।

तर फोहोरमैला उठाएर बञ्चरेडाँडामा लैजानुपर्ने भएकाले त्यहाँ महानगरले लैजान नदिएको निर्देशनले फोहोर नउठाएको परिवर्तन सेवा प्रालिका सञ्चालक मित्रप्रसाद घिमिरेले बताए ।

‘हामीलाई फोहोर उठाउन राष्ट्रपति कार्यालयबाट फोन आए पनि फोहोर नउठाउन महानगरका मेयरको निर्देशनले उठाएका छैनौं,’ सञ्चालक घिमिरेले भने । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरको फोहोर नउठाउन निर्देशन दिएपछि अहिले प्रधानमन्त्री कार्यालयसहित सिंहदरबारभित्रका कार्यालयबाट पनि फोहोर उठेको छैन ।

फोहोरमैला व्यवस्थापन संघका अनुसार सरकारी कार्यालयबाट दैनिक करिब ९ टन फोहोर संकलन हुन्छ । महानगरपालिकाले फोहोर उठाउन निर्देशन नदिएसम्म फोहोर नउठ्ने संघले जनाएको छ ।