मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणमा सरकारले चासो देखाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठसँग जोडिएको ‘अडियो घुस प्रकरण’बारे उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अभिव्यक्ति दिएसँगै सरकारी चासो प्रकट भएको हो । उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले यो प्रकरणबारे सत्यतथ्य छानविन हुुने बताएका छन् ।
वैशाख १० मा उपनिर्वाचन हुन लागेको चितवन पुगेर गृहमन्त्री श्रेष्ठले अडिओ प्रकरणबारे अनुसन्धान गरिने बताएसँगै यो प्रकरण सिंहदरबार प्रवेश गरेको छ । रास्वपाका अध्यक्ष रविलामिछाने यसअघि निर्वाचित भएकै चितवन २ मा उपनिर्वाचन हुँदै गर्दा त्यही माटोमा उभिएर उपप्रधान एवं गृहमन्त्रीले कारबाहीको संकेत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनले भनेका छन्, ‘दुई करोड माागेको कुरा आए‘को छ । अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यसअनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।’
आधिकारिक अनुसन्धानको प्रक्रियाबाट अडिओ प्रकरणको निष्कर्षमा पुग्न सकिने भएकाले गहन छानविन कै विधि अनुसार कुरो अघि बढ्ने उपप्रधान तथा गृहमन्त्री श्रेष्ठको भनाई छ ।
उपप्रधानमन्त्री श्रेष्ठले अडिओको वास्तविकताबारे सम्बन्धित पार्टी र तिनका नेताले नै प्रस्ट पार्नुपर्ने समेत बताए । रास्वपाका समानुपातिक सांसद श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग आफू मन्त्री बन्नका लागि २ करोड रुपैयाँ चाहिएकाले त्यसको व्यवस्था गरिदिन अनुरोध गरेको अडिओ कुराकानी आइतबार सार्वजनिक भएको थियो।
तर, रास्वपा सांसद ढाकाकुमारको सचिवालयले बाहिर लिक भएको अडियो वास्तविक हुन नस्कन्ने भन्दै बचाव गरेको छ । सांसद ढाकाको सतिवालयले विज्ञप्ति जारी गरेर मेडिकल व्यवसायी रसाईंसँग २ करोड रुपैयाँ मागेको भनेर फोन कुराकानीको अडियो वास्तविक नभएको जिकिर गरेको हो।
फोन सम्वादमा बोलेका अभिव्यक्तिहरू डा. ढाकाकुमार श्रेष्ठको नभएको र आवाज काट्फाँड गरी नियोजित रुपमा सांसद श्रेष्ठको राजनीतिक भविष्य लक्षित गरी गरिएको षड्यन्त्र हो, भनी जिकर गरेको छ । सांसदको सचिवालयले बचाव गरे पनि गृहमन्त्रीले छानविन हुने बताइसकेपछि यो प्रकरण थप गुजुल्टिँएको छ ।
