जनप्रतिनिधि तथा कर्मचारीको क्षमता बढाउन तालिम

२४ चैत्र २०७९, शुक्रबार १७:३८

काठमाडौंको टोखा नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्न २ दिने तालिम आयोजना गरेको छ । नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सिप विकास तथा क्षमता अभिवृद्धिका लागि २ दिने आवासीय तालिम आयोजना गरेको हो ।

ललितपुरको गोदावरीमा शुक्रबार सुरु भएको तालिम शनिबार सकिने आयोजक टोखा नगरपालिका तथा सहजीकरण कर्ता अतिथि इन्टरनेशनल कन्सल्टेन्सी प्रालि नयाँबानेश्वरले जानकारी दिए ।

तालिमको पहिलो दिन प्रशासकीय अदालतका तत्कालीन अध्यक्ष एवं पूर्व सचिव काशीराज दाहालले संविधान, संघीयता र स्थानीय सरकार तथा ‘ओ एण्ड एम सर्भे’बारे सहभागिलाई प्रशिक्षण दिए । यस्तै, पहिलो दिनको दोस्रो शत्रमा पूर्वसहसचिव तथा अधिवक्ता विष्णु बहादुर थापाले जनप्रतिनिधिको काम कर्तव्य र अधिकार, सामाजिक सुरक्षा भत्ता र पञ्जीकरणबारे सहभागिलाई अनुशिक्षण गराए ।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शेरबहादुर बीसीले पालिकाहरुमा बेलाबखत तालिम गराइरहनु पर्ने र यस प्रकारका तालिम तथा प्रशिक्षणले कार्यसम्पादन तथा योजना तर्जुमा एवं निर्णायक क्षमता अभिवृद्धि हुुने बताए । उनले भने, ‘सेवा ग्राहीप्रतिको दृष्टिकोण, आनीबानी एवं नियत सुधारमा पनि तालिमको अति महत्व छ । यस प्रकारका तालिम एक पल्ट होइन नियमितजसो भइरहनु पर्दछ ।’

विभिन्न क्षेत्रका जानकार एवं विज्ञहरुको उपस्थितिबाटै पनि यो तालिम आयोजनाको आवश्यकता एवं औचित्य पुष्टि भएको ठहर्ने प्रमुख प्रशासकीय अधिकृत बीसीले बताए । तालिमको सहजीकरण गरिरहेको अतिथि इन्टरनेशनल प्रालिले तालिममा देखिएको सहभागिताबाट यसको आवश्यकता थप पुष्टि गरेको धारणा राख्यो । तालिमको पहिलो दिन ६३ जना उपस्थित भए ।