शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘प्रेमा’ अधिकांश हलबाट हटेको छ ।
अधिकांश मल्टिप्लेक्स हलहरूले फिल्मलाई हटाइसकेका छन् ।
मल्टिप्लेक्स अन्तर्गतको क्यूएफएक्समा सोमवारबाट फिल्मलाई एउटा शो पनि दिइएको छैन । दर्शक नै नआएपछि हलहरूले फिल्मलाई उतारेका हुन् ।
प्रदर्शनको पहिलो दिन नै धेरै हलले दर्शक नआएका कारण यस फिल्मको शो स्थगित गरेका थिए ।
यो फिल्मले प्रिमियरमा मिश्रित प्रतिक्रिया पाएको थियो । प्रिमियरमा अतिथि फिल्मकर्मीले यसलाई औसत प्रतिक्रिया दिए पनि समीक्षा निकै कमजोर आएको थियो ।
गोविन्द सिंह भण्डारी निर्देशित ‘प्रेमा’ले लभस्टोरी जनरामा निर्माण भएको हो ।
फिल्ममा अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठ प्रमुख भूमिकामा छन् ।
‘छक्का पञ्जा ४’ र ‘छड्के २’ रिलिजको झन्डै १ महिनापछि हलमा नयाँ नेपाली फिल्मस्वरूप ‘प्रेमा’ प्रदर्शनमा आएको थियो ।
छक्का पञ्जा ४’ भने पाँचौं सातामा पनि दर्शकको उत्साहजनक उपस्थितिका साथ प्रदर्शन भइरहेको छ ।
‘प्रेमा’ फिल्म नचलेपछि अब आगामी शुक्रवारबाट रिलिज हुन लागेका ‘प्रसाद २ र बहाव’मा फिल्मकर्मीको ध्यान सोझिएको छ ।
‘प्रसाद २’ विपिन कार्की र केकी अधिकारी स्टारर फिल्म हो भने ‘बहाव’मा सुरक्षा पन्त शीर्ष भूमिकामा छिन् ।
