नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को–पालटलाई पखाला चलेपछि शनिबार राति काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् । निगमको व्यवस्थापनले क्याप्टेनसँगै उड्ने अर्को जगेडा को–पाइलट व्यवस्था गर्न नसक्दा शनिबार राति १२ बजे दुबईका लागि तय गरिएको उडान नम्बर– आरए२२९ बाट उड्न बोर्डिङपास लिइसकेका २ सय ६६ यात्रुलाई सिनामंगल, गौशाला, ज्ञानेश्वरका होटलहरुमा राखिएको छ । अन्तिम समयमा यात्रुहरुले जहाज नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध गरीएको थियो ।
निगम स्रोतका अनुसार, दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यसै विमानको उडान (आरए२३०) उडान पनि रद्द भएको छ । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेसनले निगमकै खर्चमा होटलमा राखेको छ । निगम प्रवक्ता अर्चना खड्का अनुसार, शनिबार राति ११ः३० बजेको रद्द उडान आरए२२९ लाई आइतबार बिहान ११ बजेका लागि राखिएको छ । काठमाडौं र दुबईमा होटलमा कति यात्रु राखिएका छन् भन्नेबारे आइतबार बिहान १० बजेसम्म विमानस्थलमा रहेका निगमका स्टेसनहरुले एकिन संख्या रिपोर्टिङ गरिनसकेको प्रवक्ता खड्काले बताइन् ।
शनिबार राति साढे १० बजे दिल्लीबाट फर्केको निगमको मकालु नेपाली नाम भएको वाइडबडी विमानलाई दुबई उडानका लागि राखिएको थियो । त्यो जहाज दिल्लीबाट उडाएर ल्याउने क्याप्टेन योगेश हिराचन र को–पाइलट गोपालसिंह विष्ट नै दुबई जानुपर्ने तालिका थियो । तर, जहाजमा उपलब्ध हुने खानाले ‘फुड प्वाइजन’का कारण पखाला लागेपछि को–पाइलट विष्टले ‘सिक रिपोर्ट’ गरेका थिए ।
अस्वस्थताका कारण कोपाइलट विष्ट जान नसक्ने भएपछि निगमको फ्लाइट अपरेसनले बिदामा रहेका पाइलटको खोजी गर्दा एक जना क्याप्टेनलाई दुबई उडानका लागि अनुरोध गरेका थिए । तर, ती क्याप्टेनले मदिरा सेवन गरिसकेकाले आफू उड्न नसक्ने जानकारी दिएपछि निगमको काठमाडौं स्टेसनले दुबई उडान रद्द गरेको उडानमा संलग्न एक कर्मचारीले बताए । निगमसँग दुइटा वाइडबडी विमान छन् । यिनका लागि ६ जना को–पाइलट र ८ जना क्याप्टेन छन् । यो संख्या पर्याप्त होइन । ‘केही पाइलट तालिममा, केही विदेशका स्टेसनमा नाइट स्टपमा, केही अर्को जहाजमा भएकाले शनिबार को–पाइलट नै पाइएन,’ वाइडबडी विमानका एक अर्को पाइलटले भने, ‘हाम्रो व्यवस्थापनले १०ः१२ जना कोपाइलट तयार पारिसक्नुपर्ने तर राजनीतिक कार्यकर्ताले भरिएको व्यवस्थापनलाई उडान व्यवस्थापनको ज्ञान नै छैन । कता आर्थिक लाभ हुन्छ, त्यसैमा ध्यान छ । निगमको जर्जर अवस्था कसलाई सुनाउनु । हामी वाक्कदिक्क भइसक्यौं ।’
