एमालेबाट सर्वेन्द्र खनाल र रामप्रसाद न्यौपाने उम्मेदवार

१८ चैत्र २०७९, शनिबार १८:१०

नेकपा एमाले तनहुँ क्षेत्र नम्बर १ मा सर्वेन्द्र खनाल र चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको बैठकले तनहुँ क्षेत्र नम्‍बर १मा पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए।

यसअघि खनालले काठमाडौं क्षेत्र नम्बर ६बाट चुनाव लडेका थिए। उक्त क्षेत्रबाट शिशिर खनाल निर्वाचित भएका थिए। यस्तै चितवन क्षेत्र नम्बर २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

तर बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि भने कसलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छैन। त्यसको लागि थप दुई दिन छलफल गरी निर्णय हुने उनले बताए।