अन्नपूर्ण हिमाल सरसफाइ गरिँदै

१६ चैत्र २०७९, बिहीबार १६:३९

नेपाली सेनाले अन्नपूर्ण हिमालको सरसफाइ गर्ने भएको छ। हिमालबाट १० हजार किलो फोहोर संकलन गर्ने लक्ष्य छ।
नेपाली सेनाको ‘सफा हिमाल अभियान २०२३’ अन्नपूर्ण हिमाल सरसफाइ गरिँदै छ।

अन्नपूर्ण सरसफाइ गर्ने नेपाली सेनाको टोली पोखराबाट बिदाइ भएका छन्। पोखरा महानगरपालिकाले हिमाल सरसफाइ गर्न जाने सेनाको टोलीलाई बिहीबार बिदाइ गरेको हो। बिदाइसँगैै टोलीलाई विश्वको १० औं अग्लो अन्नपूर्णको चुचुरोमा फहराउने पोखरा महानगरपालिकाको झन्डासमेत हस्तान्तरण गरिएको छ।

सेनाले सगरमाथासहित ४ हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेको छ। चैत १४ मा सुरु अभियान जेठ २२ गतेसम्म जारी रहनेछ। अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने ३५ हजार किलो फोेहोर संकलन गर्ने लक्ष्य छ।

अन्नपूर्ण सरसफाइ टोलीलाई महानगरको तर्र्फबाट १५ लाख रुपैयाँ सहयोग गर्ने मेयर धनराज आचार्यले घोषणा गरे। ‘पोखरा हिमालको पर्यायवाची सहर भएकाले सफाइ अभियानमा हाम्रो पनि उत्प्रेरणा होस्। हामी साथमा छौं भनेर भावना मिसाउन सहयोग गरेका छौं’, उनले भने। मेयर आचार्यले पोखरालाई हिमालबिना कल्पना गर्न नसकिने बताए।

सेनाले अघिल्लो वर्ष सगरमाथा, ल्होत्से, मनास्लु र कञ्चनजंगा हिमालबाट कुहिने ७ हजार १५७ किलो फोहोर संकलन गरेको थियो। ३३ हजार ८७७ केजी नकुहिने फोहोर संकलन गर्दा २ मानव कंकाल फेला परेका थिए।

सन् २०१९ मा सगरमाथा हिमाल सरसफाइ गरिएको थियो। २०२० मा सगरमाथा, ल्होत्से, पुमरी, मकालु, धौलागिरि र आमदब्लम हिमालमा सेनाले सरसफाइ अभियान चलाएको थियो।

फोहोरले पारेको नकरात्मक प्रभाव कम गर्न हिमाल सफाइ अभियान सुरु गरेको नेपाली सेनाको पश्चिम पृतनाको पृतनापति दीपककुमार बानियाँले बताए। ‘८ हजार मिटर अग्ला हिमाल र बेसक्याम्पमा हुने फोहोर जति निकाल्न सक्छौं वातावरणलाई पारेको नकारात्मक प्रभावबाट कम हुन्छ’, उनले भने।