बुद्ध एयरको जहाजमा प्राविधिक समस्या देखिएको छ । आज २ः५० मा काठमाडौंबाट भैरहवा उड्ने तयारीमा रहेको बुद्ध एयरको उडान नम्बर यू ८४५ जहाजमा प्राविधिक समस्या देखिएको हो।
उक्त एटीआर जहाजको इण्डिकेसनमा समस्या देखिएपछि यात्रुहरुलाई ओरालेर अर्को जहाजमार्फत भैरहवा पठाइएको छ । जहाजको समस्या पहिचान गर्ने काम भने इन्जिनियरहरूले गरिरहेको बुद्ध एयरको सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए ।
यसअघि ४ चैतमा पनि काठमाडौंबाट सुर्खेत उडेको बुद्ध एयरलाइन्सकै जहाजको इन्डिकेसनमा समस्या देखिएपछि सिमरामाथिबाट फिर्ता आएको थियो ।
७२ सीट क्षमताको उक्त जहाजको आवश्यक चेकजाँचमा कमजोरी भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले २ जना इन्जिनियरलाई ग्राउन्डेड नै गराएको थियो ।
२ दिनसम्म ग्राउन्डेड गरेर गरिएको निरीक्षणबाट उक्त जहाजको स्पिड मिटरमा समस्या औंल्याइएको थियो। समस्या समाधान गरेर आइतबारदेखि जहाजले उडान शुरू गर्न थालेको थियो भने इन्जिनियरलाई निलम्बनमा राखिराख्ने निर्णय भएको छ ।
उक्त जहाजका इन्जिनियरको विषयमा एक साताभित्र अध्ययन प्रतिवेदन पेश गर्न सम्बन्धित वायुसेवालाई निर्देशन दिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
