सभामुख देवराज घिमिरेको नियत बेठिक भएकाले उनको अधिकार कटौती गरेर कन्ट्रोल गर्नुपर्ने नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले बताएका छन्।
आइतबार संसद् भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै चौधरीले सभामुखले सरकारलाई असहयोग हुने गरी काम गरिरहेको आरोप पनि लगाए। लोकतान्त्रिक राज्य व्यवस्थामा सभामुख सबथोक नभएको उनको तर्क छ।
विद्यमान राजनीतिक दलहरुका बीचमा सहमति भइसकेपछि सभामुखले जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने हो। सरकारलाई सहयोग गर्नुपर्ने हो। तर पछिल्लो अवधिमा सभामुखको भूमिका जति सक्दो सरकारलाई असहयोग गर्ने, सरकारले एउटा मितिमा भन्छ, अर्को मितिमा बैठक राख्ने, सरकारलाई असहयोग हुने गरी काम गरिराख्नुभएको छ। नियतवशु, उनले भने।
सभामुखले आफूलाई सुधार गर्नुपर्ने चौधरीको सुझाव छ। अन्यथा अधिकार कटौती हुने उनले बताए । उनले भने,“राम्रोसँग आउनुभयो भने ठिकै छ। आफूलाई सच्याउने ठाउँमा आउनुभयो भने ठिकै छ। हामी मान्छौँ। यदि ओलीले जेजे भन्छन्, त्यही त्यही गर्न थाल्नुभयो भने उहाँलाई पनि हामी कन्ट्रोल गर्छौँ ।”
