नागरिकलाई नतर्साउनुस्: गगनकुमार थापा

९ चैत्र २०७९, बिहीबार १२:२७

प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन्।

बिहीबार महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै बताए। उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए।

उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए। महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए। उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए।

उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ । दिनमा कम्तीमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने ? डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ ।

प्रधानमन्त्रीले दायाँ हरे पनि भोट, बायाँ हेरे पनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गए टाउको टाउको मात्रै बाँकी रहने थापाले टिप्पणी गरे। उनले भने, मैले यत्ति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै देखेको थिइनँ । यति धेरै मानिस निरास भएको देखेको थिएन ।’

मंगलबार प्रधानमन्त्री प्रचण्ड ५८औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन सार्वजनिक समारोहमा जाँदै गर्दा तीन जना युवाले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। यस्तै महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिबद्धता जनाए।