सरकारले देश र जनताका पक्षमा काम गरेमा हामी साथ दिन्छौ: शंकर पोखरेल

९ चैत्र २०७९, बिहीबार ११:५४

सत्ता गठबन्धन भत्काउने कुनै योजना नरहेको एमालेका महासचिव शंकर पोखरेलले बताएका छन् ।

सरकार बनाउने र भत्काउनेमा मात्रै ध्यान जाँदा अस्थिरता मौलाएको भन्दै एमाले तत्काल गठबन्धन भत्काउन नलाग्ने प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बताए ।

उनले भने, ‘हामी अहिलेको १० दलीय गठबन्धन भत्काउन लाग्दैनौँ । सरकारले देश र जनताका पक्षमा काम गरेमा हामी साथ दिन्छौ । फेरि सरकारमा पुग्न गठबन्धन भत्काउन सोच राख्दैनौँ ।’

पोखरेलले सरकार देश र जनताभन्दा विदेशीको काँधमा चढेर राष्ट्रिय स्वाधीनता विरोधी गतिविधिमा लागे एमालेले सधैँ विरोध गर्ने बताए ।

विगतमा आरजू राणा र जनार्दन शर्माका कारण देशको अर्थतन्त्र कमजोर भएको भन्दै महासचिव पोखरेलले गठबन्धन सरकारकै कारण अर्थतन्त्र तहसनहस भएको टिप्पणी गरे ।