रुपन्देहीको तिलोत्तमा गुट्खाजन्य पदार्थ बिक्री गर्न नपाइने

८ चैत्र २०७९, बुधबार २१:४८

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गुट्खाजन्य पदार्थ आफ्नो नगरक्षेत्रमा बिक्री वितरणमा रोक लगाएको छ।

गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।

नगरपालिकाको हरियाली प्रर्वद्धन तथा नगर सरसफाई अभियानको १००औँ शृङ्खलाको मूल समारोहले यस्तो निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए। सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा बिक्रीमा प्रतिबन्ध गराएको छ।

अनुगमनको क्रममा बक्री गरेको पाइएमा नगरपालिकाले जरिवानाको दरसमेत तोकेको छ। अनुगमन गर्दा बिक्री गरेको भेटिएमा पहिलो पटक डिलर व्यवसायीलाई दस हजार, अन्य व्यवसायीलाई १ हजार पाँच सय, दोस्रोपटक डिलर व्यवसायीलाई २० हजार, अन्य व्यवसायीलाई तीन हजार र तेस्रो पटक भेटिएमा डिलर व्यवसायीलाई ५० हजार र अन्यलाई ५ हजार जरिवाना तोकिएको छ।