अयोग्य लडाकुहरुलाई रकम वितरण गरिने निर्णय नभएको प्रधानमन्त्री प्रचण्डको दाबी

८ चैत्र २०७९, बुधबार २१:२३

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अयोग्य लडाकुहरुलाई रकम वितरण गरिने निर्णय नभएको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि नेपाली कांग्रेसका नेता रमेश लेखकले सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले बैठकमा लडाकुलाई रकम दिनेबारे कुनै निर्णय नभएको बताएको दाबी गरे ।

अयोग्य लडाकुहरुलाई रकम वितरण गरिएकोले भागवण्डामा जटिलता आएको हो भन्ने जिज्ञासामा लेखकले प्रधानमन्त्रीको भनाइ उदृत गर्दै लडाकुलाई रकम दिनबारेमा कुनै पनि निर्णय नभएको प्रधानमन्त्रीले भनेको बताए ।

‘आजको बैठकमा नै प्रधानमन्त्रीले पूर्वलडाकुलाई रकम दिने निर्णय भएको छैन भन्ने मैले बुझें उनले बताए’, लेखकले भने । सरकारले यसअघि अयोग्य लडाकुहरुलाई जनही २ लाख रुपैयाँको दरले रकम दिने भन्ने चर्चा भएको थियो । जसमा सत्ता गठबन्धनकै दलहरुले आपत्ति जनाएका थिए ।

बैठकमा मन्त्रिपरिषद विस्तारबारे प्रारम्भिक छलफल भएको लेखकको भनाइ छ । ‘सरकार विस्तार गर्ने विषयमा प्रारम्भिक छलफल भएको छ’, उनले भने, ‘मुलतः यसकै विषयमा कुराकानी भएको छ ।’