प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ युवालाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्ने

८ चैत्र २०७९, बुधबार १६:१९

नेकपा (माओवादी केन्द ) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने क्रममा पक्राउ परेका ३ युवाहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

मंगलबार बानेश्वरमा प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गरेको आरोपमा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बाग्लुङका ३० वर्षीय सोम शर्मा र बझाङका १८ वर्षीय विप्लव खड्कालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रशासन कार्यालयले थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएसँगै अब अभद्र व्यवहारको कसुरमा अनुसन्धानको प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सीताराम रिजालले बताए।