आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने

८ चैत्र २०७९, बुधबार ०८:०९

प्रतिनिधी सभामा रिक्त रहेका पदका लागि उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ।

उपनिर्वाचनको दल दर्ता बुधबारबाट सुरु हुँदैछ। आजबाट सुरु हुने दल दर्ता चैत १२ गतेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।
आयोगले दल दर्ताका लागि राजनीतिक दलहरूलाई आह्वान गरिसकेको छ।

चितवन–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने निर्वाचित भएका थिए। नागरिकतासम्बन्धी मुद्दामा उनको सांसद पद गुमेको थियो।

यस्तै तनहुँ १ बाट निर्वाचित कांग्रेस नेता रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपति निर्वाचित भएसँगै सांसद पदबाट राजीनामा दिएका थिए। यस्तै बारा क्षेत्र नम्बर २ मा निर्वाचित भएका रामसहाय प्रसाद यादव चैत ३ गते उपराष्ट्रपति निर्वाचित भएपछि उनले पनि सांसद र पार्टीबाट राजीनामा दिएका छन्।

आयोगले उक्त तीनवटै क्षेत्रमा एकैचोटि निर्वाचन गर्ने जनाएको छ।