पानीको स्रोतहरुको संरक्षण गर्न राष्ट्रपतिको आह्वान

८ चैत्र २०७९, बुधबार ०७:२१

राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने सङ्कटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ–गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताएका छन्।

विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिदै उनले सहरी क्षेत्रमा वर्षाको पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको बताएका हुन्। उनले भनेका छन्, “यत्रतत्र पोखरीहरू निर्माण गरी आकाशेपानी सङ्कलनसमेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अतिआवश्यक भइसकेको छ ।”

उनले बढ्दो सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका क्रममा भएको वनजङ्गल तथा प्रकृति विनाशका कारण पानीका स्रोतहरू नष्ट भइरहेको बताए। राष्ट्रपति पौडेलले सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण जमिनमुनिको पानीको सतह निरन्तर घट्नेक्रम जारी रहेको उल्लेख गरे।

उनले भनेका छन्,“अव्यवस्थित बस्ती र बढ्दो औधोगिकीकरणका कारणले जमिनमुनिको पानीसमेत प्रदूषित हुँदै गएको छ । जसका कारणले प्राणी जगतका लागि प्रकृतिले दिएको वरदान पानीका स्रोतको संरक्षण गर्नु आजको दिनमा मानव सभ्यताका लागि चुनौती बनेको छ ।” उनले पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पुर्‍याउन प्रेरणा मिलोस् भन्ने विश्व पानी दिवस २०२३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु भनेका छन् ।