प्रधानमन्त्री प्रचण्ड पहिलो विदेश भ्रमणमा भारत जाने

७ चैत्र २०७९, मंगलवार २१:३८

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको तयारी शुरु भएको छ।

प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त हुनासाथ पहिलो बधाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएका कारण पहिलो विदेश भ्रमण भारत नै हुन लागेको हो। तर भ्रमणको मिति भने तय भइसकेको छैन।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले औपचारिक निमन्त्रणा नआए पनि भ्रमणको तयारी भइरहेको बताए। भ्रमणको चाँजोपाँजो मिलाउन सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा मंगलबार भारत भ्रमणमा गएकी छन्। बुधबार र बिहीबार भारतको राजधानी नयाँ दिल्लीमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने मन्त्री शर्माले प्रधानमन्त्री प्रचण्डको भ्रमणको समेत निर्क्यौल गरेर फर्कने तयारी गरेकी छन्।

मन्त्री शर्मा बुधबार अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियू) को क्षेत्रीय कार्यालय उद्घाटनमा सहभागी हुने कार्यक्रम छ। नयाँ दिल्लीमा स्थापना भएको आइटियूको एशिया प्रशान्त क्षेत्रीय कार्यालय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्ने कार्यक्रम छ।

बुधबार नै उनले विभिन्न देशका मन्त्री सहभागी हुने मन्त्रीस्तरीय सम्वादमा पनि सहभागता जनाउने छिन्। बिहीबार उनले भारतीय समकक्षी अश्विनी वैष्णवसँग दुईपक्षीय भेटवार्ता गर्ने र भारतस्थित नेपाली दूतावास तथा त्यहाँस्थित नेपाली समुदायले गर्ने कार्यक्रममा पनि सहभागी हुने छिन्।

मन्त्री शर्माको भारत भ्रमण टोलीमा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तमप्रसाद खनाल, मन्त्रालयका सहसचिव गौरव गिरी, मन्त्री शर्माका स्वकीय सचिव हेमराज शर्मा पोख्रेल, नेपाल टेलिकमका प्रबन्धक विमल आचार्य समावेश छन्। मन्त्री शर्मासहितको टोली शुक्रबार दिउँसो स्वदेश फर्कने कार्यक्रम छ।