नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवासँग टेलिफोनमा कुराकानी गरेका छन् । उनी हाल चीनमा उपचाररत रहेका छन् ।
सोमबार प्रधानमन्त्री प्रचण्डसँग र मंगलबार देउवासँग नेता पुनले फोनमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ । नेता पुनले संसदका झन्डै दुई तिहाइ सदस्यले विश्वासको मत दिएकामा प्रधानमन्त्रीलाई बधाई दिए ।
दुवै नेतासँग उनले राजनीतिक स्थायित्व, संविधानको रक्षा तथा जनआकांक्षाअनुसार सुशासन, विकास र रोजगारी सृजना गर्ने गरी सरकार र सत्ता गठबन्धन अघि बढ्नुपर्ने बताए । ‘को प्रधानमन्त्री र को मन्त्री बन्न भन्ने कुरासँग जनतालाई त्यति धेरै चासो छैन’, पुनले भने, ‘व्यवस्था परिवर्तनका लागि राजनीतिक नेतृत्वलाई साथ दिएका जनता अर्थतन्त्रका सुधार तथा सुशासन, विकास, रोजगारी र आफ्नो अवस्थामा परिवर्तन चाहन्छन् ।’
देउवासँग पुनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एउटै एजेन्डा लिएर जनतामा गएका दलहरू एकै ठाउँ बस्ने वातावरण बन्नुले जनमतको सम्मान भएको भन्दै खुसी व्यक्त गरे । उनले प्रमुख दुई नेता गठबन्धनका दलहरू मिलेर आगामी पाँच वर्षसम्म सहकार्य गर्नुपर्ने उल्लेख गरे । ‘हामी सँगै भएपछि चुनावमा गठबन्धन दललाई मत दिएका मतदाताको सम्मान भएको छ’, पुनले देउवालाई भने, ‘यसलाई सफल पार्न दुई नेता र पार्टीले देश र जनताको भावनाअनुसार जनतालाई केन्द्रमा राखेर सहकार्य कसिलो कसिलो बनाएर अगाडि जानुप¥यो ।’ जवाफमा देउवाले गठबन्धन पाँच वर्षसम्म टिक्नेमा आफूहरूले आश्वस्त तुल्याउने बताए ।
