सभामुखले लिए अभिव्यक्ति फिर्ता, माफि माग्दै भने यस्तो

६ चैत्र २०७९, सोमबार २१:०६

सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएको ‘विवादास्पद’ अभिव्यक्ति फिर्ता लिएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

नेपाल पत्रकार महासङ्घका पदाधिकारीहरूलाई सोमवार दिउँसो सिंहदरबारमा रहेको आफ्नै कार्यकक्षमा बोलाई सभामुख घिमिरेले आफूले दिएको अभिव्यक्ति फिर्ता लिएको बताएका हुन्।

गत चैत ३ गते नेपाल पत्रकार महासङ्घको प्रतिनिधिमण्डलसँगको भेटमा सभामुखले ‘पत्रकारहरू बिक्रीमा छन्’ भन्ने अभिव्यक्ति दिएपछि उनी विवादमा परेका थिए। पत्रकारबारे दिएको आफ्नो अभिव्यक्ति सभामुख घिमिरेले आफूहरुसँगको भेटमा सच्याएको महासङ्घका वरिष्ठ उपाध्यक्ष रमेश विष्टले जानकारी दिए ।

उनले भने, ‘पत्रकारलाई लिएर दुर्घटनावश गरिएको टिप्पणीलाई संसद् सचिवालय, सभामुखको तर्फबाट सच्याइएको छ । सभामुखले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति संसद् र आफू पूर्ण प्रतिबद्ध भएको जानकारी गराउनुभएको छ । सभामुखज्यू र नेपाल पत्रकार महासङ्घको बीचमा यही छलफल भयो । यो विषयलाई यही टुङ्ग्याउने निर्णय पनि गरेका छौँ ।’