राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूहरूको विशेष पहलमा बनेको न्यूनतम साझा कार्यक्रम कार्यान्वयन हुने आशामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्नुपरेको जनाएको छ ।
रास्वपा उपसभापति डोलप्रसाद अर्यालले आफूहरू सरकारमा रहेका बेला बनाइएको न्यूनतम साझा कार्यक्रममा नागरिकका मुद्दाहरू रहेको र त्यसको सम्बोधनका लागि प्रधानमन्त्री प्रचण्डलाई फेरि पनि विश्वासको मत दिन लागिएको बताएका हुन्।
आज सोमवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उपसभापति अर्यालले सरकारले जे गर्दा पनि ठिक हो भन्नका लागि आफूहरूले दिएको विश्वासको मत कबुलियतनामा नभएको पनि स्पष्ट पारे । उनले आफ्नो दललाई आपत् परेको बेला साथ दिएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवादसमेत दिए।
उनले भने, ‘हामीले प्रचण्डजीलाई प्रधानमन्त्रीका रूपमा समर्थन गरी सरकारमा सहभागी हुँदादेखि सरकारबाट बाहिरिएर अहिले त्यस समर्थनलाई निरन्तरता प्रदान गर्दासम्म कसैसँग गठबन्धन गरेका छैनौँ । हामी यसअघि सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने पहिलो दल हौँ । हाम्रै विशेष पहलमा सरकारको न्यूनतम साझा कार्यक्रम तयार भयो । त्यसमा हाम्रा वाचा पत्र लगायत कैयौँ कुराहरू समावेश छन । ती बुँदाहरू आम नागरिकका हुन् । ती मुद्दाहरूको सम्बोधनमा सरकारले निरन्तरता दिने विश्वास नै हामीले प्रधानमन्त्रीलाई विश्वासको मत दिनुको प्रमुख आधार हो । हामी गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्नेछौँ । सरकारलाई हामीले दिएको समर्थन भनेको सरकारले जे गरे पनि ठिक हो भन्ने कबुलियतनामा होइन । नागरिकका मुद्दाहरूमा इमानदारिता गुमाएको दिन हामी प्रतिपक्षमा उभिने छौँ ।’
उपसभापति अर्यालले नागरिकले आफ्नो पार्टीबाट आशा गरेको उल्लेख गर्दै उनीहरूको त्यो अपेक्षा पूरा हुने गरी काम गर्न प्रतिबद्ध भएर लागिपर्ने बताए।
