एक मत बढी भेटिए पछि सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा पुन–मत गणना हुने

६ चैत्र २०७९, सोमबार १२:२८

एक मत बढी भेटिए पछि सर्लाहीको चतुर्भुजेश्वर क्याम्पसमा पुन–मत गणना हुने
आइतबार सम्पन्न स्ववियु निर्वाचनमा ७११ मत खसेकोमा मतगणनाका क्रममा ७१२ वटा मतपत्र भेटिएको तथा नेकपा एमाले निकट अखिल र माओवादी निकट अखिल क्रान्तिकारीका उम्मेदवारले बराबर मत ल्याएपछि पुन– मतगणना हुन लागेको हो ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार मतगणनाका क्रममा सभापतिमा नेबिसंघको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका प्रेमराज दाहालले ३५० र अनेरास्ववियुका सन्दीप थापाले पनि ३५० नै मत प्राप्त गरेपछि बढी देखिएको एउटा मतपत्रका कारण विवाद चुलिएपछि मतपरिणाम घोषणा स्थगित गरिएको हो।

स्ववियु निर्वाचन अन्तर्गत सुखेपोखरीमा ९७० जना विद्यार्थीमध्ये ७११ जना विद्यार्थीले मतदान गरेका थिए तर मतपत्र गणना गरिसक्दा भने ७ सय १२ मत देखिए पछि थप बिबाद भएको हो। सर्वपक्षीय बैठक बसेर पुन–मतगणनाको तयारी भइरहेको छ।