नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिँदैछन्।
नेकपा एमालेले गत फागुन १५ गते समर्थन फिर्ता गरेपछि उनले नेपाली कांग्रेससहितको पुरानै गठबन्धनमा फर्किएर १० दलीय मोर्चा बनाएपछि विश्वासको मत लिन लागेका हुन्।
पुस १० मा बनेको सात दलीय गठबन्धन छाडेर नेपाली कांग्रेससँगै प्रचण्डले सहयात्रा थाल्दा एमाले संघदेखि प्रदेशसम्म तीन महिनामै प्रतिपक्षमा पुग्ने अवस्था आएको छ।
संघीय संसदमा आइतबारदेखि नै प्रतिपक्षी बेन्चमा अर्थात सभामुखको देव्रेतर्फको आशनमा बसिसकेको एमालेको पनि विश्वासको मत पाउने संकेत प्रधानमन्त्री प्रचण्डले गरेका छन्।
आइतबार संसद बैठकबाट बाहिरिने क्रममा उनले सबै सांसदबाट विश्वासको मत पाउने विश्वास व्यक्त गरे। यसअघि ९९.२५ प्रतिशत सांसदको विश्वासको मत पाएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोमबार शतप्रतिशत सांसदको विश्वासको मत पाउने दाबी गरेका हुन्।
एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसमेत सरकारबाट बाहिरिएपनि प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट ती दलको पनि मत पाउने बताए। हालसम्म उनलाई कांग्रेस, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक रुपमा निर्णय गरिसकेका छन्। अन्य दलले पनि सोमबार बिहानसम्म निर्णय लिइसक्नेछ।
