प्रधानमन्त्री प्रचण्डलाई अस्थितरता अगुवाको संज्ञा

४ चैत्र २०७९, शनिबार १३:३४

नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले अस्थितरताको अगुवाको संज्ञा दिएका छन् ।

एमालेसँग गरेको सहमती दुई महिना नपुग्दै तोडेर प्रचण्डले देशमा अस्थिरता निम्त्याएको शनिबार हेटौंडामा पत्रकारहरुसँग कुरा गर्दै सचिव विष्टले आरोप लगाए । ‘नेकपा एमालेसँग मिलेर माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बन्नुभएको थियो । तर उहाँले सहमतीको दुई महिना नपुग्दै सहमतीलाई तोड्नुभएको छ । एकप्रकारले अस्थितरता निम्त्याउने कामको अगुवाई प्रधानमन्त्रीले गर्नुभएको छ,’ उनले भने, ‘देशमा राजनीतिक अस्थितरता निम्त्याउने, अन्यौलता निम्त्याउने, देशलाई बर्बादीको दिशातर्फ लाने काम प्रधानन्त्री प्रचण्ड स्वयंले गर्नुभयो ।’

देशभित्र र बाहिरका शक्ति केन्द्रहरुको आडमा प्रचण्डले देशमा अस्थिरता निम्त्याउने कामको नेतृत्व गरेको विष्टको आरोप छ । उनले भने, ‘प्रधानमन्त्री प्रचण्डले देशी विदेशी शक्ति केन्द्रहरुको स्वार्थलाई सेवा पु¥याउने गरी काम गरेका छन् ।’ प्रधानमन्त्री प्रचण्डको यस किसिमको व्यवहार उनी स्वयंका लागि पासो सावित हुने सचिव विष्टको चेतावनी छ ।

यस्तै, सचिव विष्टले एमाले केन्द्र सरकारबाट बाहिरिए पनि तत्काल प्रदेश सरकारहरुबाट नबाहिरिने संकेत गरेका छन् । उनले पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै केन्द्रमा जस्तो शक्ति सन्तुलनको अवस्था प्रदेशहरुमा नरहेकाले प्रदेश सरकारबाट एमाले बाहिरिहाल्नुपर्ने अवस्था नरहेको जिकिर गरे ।