प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैतमा विश्वासको मत लिँदै छन् । शुक्रबार उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएपछि विश्वासको मत लिएर मन्त्रिपरिषद् विस्तार गर्ने योजनामा प्रधानमन्त्री प्रचण्ड रहेका छन् ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने पत्र संसद् सचिवालयमा बिहीबार दर्ता भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विश्वासको मत लिने प्रस्ताव राख्न अनुरोधसहितको सो पत्र दर्ता भएको हो ।१० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले २६ पुसमा विश्वासको मत लिएका थिए । त्यतिबेला उनलाई दुई सांसदबाहेक सबै दलका २ सय ६८ मत पाएका थिए । एमालेसहितका दलको गठबन्धनबाट प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड नेतृत्वको सरकारलाई एमाले समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।१० पुसमा बनेको एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा गठबन्धन राष्ट्रपति निर्वाचनअघि फुटेर नयाँ गठबन्धन बनेको छ । अहिले प्रचण्ड नेतृत्वको सरकारलाई विभिन्न १० दलको समर्थन रहेको छ ।
अहिलेको सत्तारूढ गठबन्धनमा रहेका माओवादी केन्द्रसँग ३२, कांग्रेससँग ८९, जसपासँग १२, एकीकृत समाजवादीसँग १०, लोसपासँग ४, नाउपा ४, जनमत पार्टीसँग ६, आमजनता पार्टीसँग १, राष्ट्रिय जनमोर्चासँग १ र नेपाल समाजवादी पार्टीसँग १ सांसद संख्या रहेको छ ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले समेत विश्वासको मत दिँदै छन् । १ सय ६१ सांसदले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिनेछन् । सरकार निर्माणका लागि १ सय ३८ सांसदको मत आवश्यक पर्छ । यो समाचार राजधानी दैनिकमा छ ।
