
जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बागमती, कोशी, लुम्बिनी र मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ। विषेशगरी बर्दिया, गोरखा, नुवाकोट, मकवानपुरलगायत स्थानमा वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए।
काठमाडौं उपत्यकामा आज पनि साँझपख क्षणिक वर्षाको सम्भावना रहेको उनले बताए। साथै देशको पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको प्रक्षेपण गरिएको छ।
शुक्रबार दिनभरि नै देशभर आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। मौसमविद् पौडेलले अबका एक–दुई दिन देशभर मौसममा बदली हुने र त्यसपछि मौसममा क्रमशः सुधार हुँदै जाने जानकारी दिए।
