अभिनेता पल शाह जेलमुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
उनी बुधबार रुकुमको खलंगामा जारी महोत्सवमा सहभागी भएका हुन् । उनी बहिनी रोशनीसँगै हेलिकप्टर चढेर उक्त कार्यक्रममा सहभागी हुन पुगेका थिए । महोत्सवमा उनले गीत गाएर प्रस्तुति पनि दिए ।
हजारौं दर्शक सहभागी कार्यक्रममा पलले रुकुम आफ्ना लागि प्रिय रहेको भन्दै फ्यानको मन जित्ने प्रयास गरे । उनले जेल विश्वविद्यालयको संज्ञा दिदै अनुभव पनि बाँडे । उक्त अवसरमा पलले अब आफू म्युजिक भिडियोमार्फत पुनरागमन गर्न लागेको घोषणा समेत गरे ।
एक वर्षअघि नै युट्युबमा रिलिज भइसकेको ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको फिमेल भर्सनको गीतमार्फत आफू कमब्याक गर्न लागेको उनले बताए । दर्शकले भीडबाट फिल्ममा पनि चाँडै फर्कनुपर्छ भनेर हुटिङ गर्न थालेपछि चाँडै फिल्ममा समेत फर्किने तयारीमा रहेको उनले बताए ।
