गण्डकी प्रदेशको म्याग्दी जिल्लास्थित एनआईसी एसिया बैंकको शाखा कार्यालयका शाखा प्रमुख विनोद सापकोटा र कार्यकारी सहायक प्रकाश आलेमाथि कुटपिट भएको छ । आज सो शाखाका कर्मचारीमाथि नियोजित रूपमा गरिएको सांघातिक आक्रमणबाट कर्मचारीहरू गम्भीर घाइते भएको बताइएको छ ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले यस घटनाप्रति घोर भत्र्सना भएको विज्ञप्ति निकालेको छ । बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र कर्मचारीहरूमाथि दुव्यर्वहार गर्ने, लुटपाट गर्ने, कार्यालय बन्द गर्न धम्की दिनेजस्ता अराजक गतिविधि र आक्रमण गर्ने जस्ता कार्यहरू दैनिक बढिरहेकोप्रति पनि सीबीफीनले गम्भीर ध्यानाकर्षण गराएको छ ।
जाजरकोट जिल्लामा कर्मचारीमाथि गरिएको दुव्र्यवहार, मकवानपुर जिल्लास्थित कुमारी बैंकको शाखा कार्यालयमा गरिएको धरपकड र ज्यादतीको श्रृंखलाबद्ध घटना घटेको भन्दै यसतर्फ राज्यको ध्यान जानुपर्ने पनि सीबीफीनले विज्ञप्तिमा उल्लेख गरेको छ ।
“निहित स्वार्थ पूर्तिका लागि बैंकिङ जस्तो संवेदनशील एवं अत्यावश्यक क्षेत्रमाथिको ज्यादती र निमुखा कर्मचारीको ज्यानै लिने उद्देश्यसहित घटाइएका यस्ता घटनामा संलग्न दोषीहरूलाई हदैसम्मको कारबाही गर्नसमेत नेपाल सरकार, गृह मन्त्रालय र मातहतका सुरक्षा निकायसमक्ष जोडदार माग गर्दछौं । वार्ता तथा संवादको माध्यमबाट कुनै पनि समस्याको उचित समाधान निकाल्नका लागि आवश्यक पहल गर्न र बैंकिङ सेवालाई भयरहित वातावरणमा सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन नेपाल सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, मातहतका सुरक्षा निकाय र सम्बन्धित सबैमा बारम्बार अपिल गरिरहेकै बखतमा बैंकका कर्मचारीमाथि गरिएका यस्ता निर्मम एवं हिंस्रक घटनाले नेपाल सरकारको शान्ति सुरक्षाको व्यवस्थाको खिल्ली उडाएको र समग्र अर्थव्यवस्थामाथि नै प्रहार भएको अनुभूत भएको छ,” सीबीफीनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
