एनएमबि बैंकले क्रिकेट खेलाडीलाई जनही २१ हजार दिने

२ चैत्र २०७९, बिहीबार १३:१४

एनएमबि बैंकले विश्व क्रिकेट लिग–२ मा उत्कृष्ट प्रदर्शन गरेबापत सहभागी टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप जनही २१ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले सहभागी टिमको १६ जनालाई सम्मान र हौसला स्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन, खेलाडीहरु राष्ट्रका गौरव हुन। खेलाडीको मनोबल उच्च कायम राखी राख्न सकेमा मात्र खेलाडी र खेलकुद जगतको प्रगती हुने कुरालाई मध्यनजर गर्दै हामीले १६ जना प्रतिभाशाली खेलाडीहरुलाई सम्मान र हौसला प्रदान गर्ने मनसायले यो कदम चालेका हौँु केसीले भने ।

२०१९ देखि शुरु भएको यस विश्व क्रिकेट लिग –२ को कुल ३५ खेलमा १८ वटा म्याचमा जित हात पारेर नेपाल आज युएइसँग भिडिरहेको छ । आजको खेलमा जित हात पारेमा नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट हुनेछ । जसमा नेपालले पहिलो पटक विभिन्न टेस्ट राष्ट्रहरूसँग खेल्ने मौका पनि पाउनेछ । यो नगद पुरस्कारले पनि आजको खेलमा अझै उत्कृष्ट प्रदर्शन गर्न प्रोत्साहित गर्नेछ भन्ने विश्वास बैंकले लिएको जनाएको छ ।

सो पुरस्कार रकम सबै १६ खेलाडीको नाममा बैंकमा खाता खोलि उक्त खातामार्फत हस्तान्तरण गरिने बैंकका कार्यकारी अधिकृत केसीले बताए ।