कांग्रेसका हिमाल कार्की कोसी संसदीय दलको उपनेता

२ चैत्र २०७९, बिहीबार १२:११

नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको उपनेतामा हिमाल कार्की चयन भएका छन्।

संसदीय दलका नेता उद्धव थापाले कार्कीलाई उपनेता नियुक्त गरेका हुन्।

सभापति शेरबहादुर देउवा निकटका कार्कीको नियुक्तिसँगै प्रदेश संसदीय दलमा हालसम्म चयन भएका सबै पदाधिकारी संस्थापन पक्षका छन्।

शेखर कोइराला पक्षका अहिलेसम्म कोही परेका छैनन्। प्रमुख सचेतकमा यसअघि नै संस्थापनकै भूपेन्द्र राई चयन भएका छन्। सचेतक नियुक्ति बाँकी छ।

उपनेता चुनिएका कार्की पहिलो कार्यकालमा पनि यही जिम्मेवारीमा थिए। प्रदेश सभाको अन्तिम वर्षमा कांग्रेस सरकारमा सामेल हुँदा उनैले पार्टीको नेतृत्व गरेका थिए। उनी प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री हुन्।

उदयपुर क्षेत्र नम्बर १ को प्रदेश ९२० बाट दोस्रोपटक प्रदेशसभामा निर्वाचित कार्की कांग्रेसका उदयपुर जिल्ला सभापति समेत हुन्।