नेपाली कांग्रेसले सरकारमा सहभागी हुन हतारो नगर्ने भएको छ । आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा यसबारेमा प्रारम्भिक छलफल भएपनि सरकारमा जान भने हतार नगर्नेमा शीर्ष नेताहरु सहमत भएका थिए ।
बैठकमा सहभागी एक नेताकाअनुसार सभापति शेरबहादुर देउवाले सरकारमा जान हतार गर्न नहुने धारणा राखेका थिए । उनले ‘सरकारमा सहभागी हुन हतार नगरौं, अझै केही समय पर्खिनुपर्छ’ भन्ने टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारीसँगै सरकार विस्तारको लागि गृहकार्य थालेकै बेला कांग्रेसले भने तत्काल सरकारमा सहभागी नहुने अडान लिएको छ । बरु, कांग्रेसले प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत लिएपछि मात्रै सरकारमा सहभागी हुने बताएको छ । राष्ट्रपतिको निर्वाचन भएर मुलुक उपराष्ट्रपतिको निर्वाचनको मुखमा छ ।
आजबाट उपराष्ट्रपतिको निर्वाचनको लागि मौन अवधि सुरु भएको छ । कांग्रेसले उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादवलाई समर्थन गर्ने भएको छ । आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनको आधिकारिक उम्मेदवार रामसहायलाई उपराष्ट्रपतिमा समर्थन गरी मत दिने निर्णय गरेको हो ।
