राष्ट्रपतिको निर्वाचन बहिष्कार गरेको राप्रपाले एमालेलाई भोट दिदै

३० फाल्गुन २०७९, मंगलवार २०:४८

उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदै छ । निर्वाचनमा चारजनाले उम्मेदवारी दिएकामा जसपाकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन् ।

अब एमालेकी अष्टलक्ष्मी शाक्य, जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झा मैदानमा छन् । फागुन २५ गतेको राष्ट्रपति निर्वाचन बहिष्कार गरको राप्रपाले उपराष्ट्रपति निर्वाचनमा भने भाग लिने भएको छ ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिट्टै पार्टीले निर्णय गर्ने जानकारी दिएका छन् । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्याक्रममा लिङ्देनले राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिस्कार नगरेको दाबी पनि गरे ।

‘यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशील व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको हो,’ उनले भनेका थिए । तर राप्रपाका सांसद संसद् भवनमै गएनन् ।

राप्रपाले निर्वाचनको दिन मात्रै कसलाई मत दिने भन्ने निर्णय गर्ने बुझिएको छ । अहिले आचारसंहिताका कारण राप्रपा खुल्न नसकेको हो । विश्वस्त सूत्रका अनुसार राप्रपाले एमाले उम्मेदवार शाक्यलाई मत दिने निर्णय गर्ने छ ।

एमालेसँग सम्बन्धका कारण राप्रपाले यस्तो निर्णय गर्ने भएको हो । राप्रपाको संघीय संसदमा १४ र प्रदेशतर्फ २८ सांसद छन् ।तर, राष्ट्रपति निर्वाचनमा तठस्थ बसेकाले उपराष्ट्रपति निर्वाचनमा पनि कतै खुल्न नहुने आवाज राप्रपामा बलियो नै देखिन्छ ।