उपराष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार राससहायप्रसाद यादवलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मत नदिने भएको छ ।
राष्ट्रपतिमा निर्वाचत रामचन्द्र पौडेल पुरुष भएकाले उपराष्ट्रपतिमा महिला उम्मेदवारलाई समर्थन गर्ने रास्वपाको नीति छ । पौडेललाई राष्ट्रपतिमा मत दिएको रास्वपाले उपराष्ट्रपतिमा कसलाई मत दिने भन्ने विषयमा कुनै निर्णय गरेको छैन । राष्ट्रपति पुरुष भइसकेपछि उपराष्ट्रपति महिला हुनुपर्छ मान्यता रहेको रास्वपाका नेताहरुले बताएका छन् ।
उपराष्ट्रपतिमा जसपाबाट रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन् । रास्वपाले शाक्य र झामध्ये कसलाई मत दिने खुलाएको छैन ।
यद्यपि, एमाले उम्मेदवार शाक्यलाई भोट दिने सम्भावना बढी रहेको बताइन्छ । यसअघि राष्ट्रपति निर्वाचनमा तटस्थ रहेको राप्रपाले पनि उपराष्ट्रपतिमा भने मत दिने भएको छ । राप्रपाले पनि एमाले उममेदवार शाक्यलाई नै सहयोग गर्ने सम्भावना अधिक छ ।
