नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले चीनको सहयोगमा नेपालले भौतिक र औद्योगिक विकास गरिरहेको बताएका छन् । मंगलबार आयोजना भएको ‘नेपाल–चीन बिजनेस फोरम, २०२३’ मा सम्बोधन गर्दै अग्रवालले नेपालको विकासमा चीनको ठूलो सहयोग गरिरहेको बताएका हुन् ।अग्रवालले नेपाल भ्रमणमा रहेको चाइना काउन्सिल फर दर प्रमोसन अफ इन्टरनेश्नल ट्रेड ९सीसीपीआईटी०का सदस्यहरुलाई स्वागत गर्दै भने, ‘चीनसँगको व्यवसायीक सहकार्य अगाडी बढाइरहन पाउँदा निकै खुसी लागेको छ ।’ नेपालले चीनसँग औपचारिकरुपमै ७० वर्षभन्दा लामो समयदेखि व्यापारिक सम्बन्ध कायम गर्दै आइरहेको छ । सन् १९५० मा नेपाल र चीनबीच दुई पक्षीय सम्बन्ध स्थापना भएको थियो । यस्तै, सन् १९५६ मा नेपाल र चीनबीच व्यवसायीक सहयोगको सम्झौतामा हस्ताक्षर भएको थियो ।यस्तै, अग्रवालले सन् १९८० देखि चीन सरकारले नेपाललाई आर्थिक, प्राविधिक र भौतिक विकासको क्षेत्रमा दिँदै आएको सहयोगलाई समेत स्मरण गरे । ‘नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच लामो प्रभावकारी साझेदारी छ । यतिबेला सीसीपीआईटीसँग ६० भन्दा धेरै व्यवसायी नेपाल भ्रमणमा हुनुहुन्छ,’ अग्रवालले थपे, ‘यो भ्रमणले दुईतर्फी व्यवसायीक नाफा हुने अपेक्षा छ ।’
कोरोना महामारीको समयअघि नेपालमा चीन सबैभन्दा धेरै पर्यटक आउनेको सूचीमा दोस्रो स्थानमा थियो । यसले नेपालको पर्यटन बजारमा ठूलो र अर्थपूर्ण प्रभाव कायम गरेको छ ।
