भ्रष्टाचारमा दोषी ठहर भई ९ वर्ष ६ महिना कैद सजाय तोकिएका पूर्वमन्त्री बद्री न्यौपानेले आफूमाथि अन्याय भएको दाबी गरेका छन् । उनले आज मङ्गलबार राजधानीमा पत्रकार सम्मेलन गरी इतिहासमै नभएको फैसला अदालतले आफूमाथि गरेको जिकिर गरे ।
न्यौपानेले रुँदै भने, एउटै व्यक्तिमाथि तीन प्रकारको सजाय नेपालको इतिहासमा भएको छैन । म सुकुम्बासी हुँ केही छैन धरौटी राख्ने रकम पनि छैन । पूर्वमन्त्री न्यौपानेले आफूमाथि पूर्वाग्रहीपूर्वक आरोप लगाइएको दाबी गरे । उनले भने, यो सबै मेरो राजनीतिक जीवन सिध्याउन गरिएको षड्यन्त्र हो । उनले आफूले कोठा भाडा तिर्न नसकेको ४ महिना बितिसकेको बताए ।
विशेष अदालतले काठमाडौंको भृकुटीमण्डपको जग्गा लिजमा दिंदा भ्रष्टाचार गरेको ठहर भएकोमा ९ मार्चमा पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेलाई जेल, जरिवाना र थप सजाय समेत तोकेको थियो । न्यौपानेलाई २ करोड ३ लाख ६८ हजार ८०३ नेपाली रुपैयाँ बीगो र थप ६ महिना कैद सजाय निर्धारण भएको विशेष अदालतले जानकारी दिएको थियो । यो घटनामा ७ जनालाई विशेष अदालतले दोषी ठहर गरेको थियो ।
जग्गा लिज प्रकरणमा अर्का पूर्वमन्त्री टेकबहादुर गुरुङलाई भने मतियार ठहर गर्दै १ करोड २१ लाख, ८४ हजार ४०१ जरिवाना सजाय निर्धारण भएको थियो । कर्मचारीहरुले भने सफाइ पाएका थिए ।
पूर्वमन्त्री बद्री न्यौपाने विगतमा नेपालको चुरे भावर आन्दोलनको नेतृत्वकर्तामध्येका एक थिए । मधेश आन्दोलन चर्किंदा नेपालको पूर्व पश्चिम राजमार्ग क्षेत्रको चुरे भावर आन्दोलन पनि बढेको थियो ।
घटनामा दोषी ठहर गर्दै समाज कल्याण परिषदका तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, तत्कालीन कोषाध्यक्ष कुञ्जविहारीप्रसाद चौधरी, तत्कालीन सदस्यहरु हरि न्यौपाने, मोहनराज शर्मा, मदनकुमार लाल कर्ण, तत्कालीन सदस्य सचिव रवीन्द्र कुमारलाई पनि कैद र जरिवाना सजाय निर्धारण गरेको छ ।
