राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा चितवन–२ मा हुने प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बन्ने भएका छन्।
जनमोर्चाको केन्द्रीय कमिटी बैठकले शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी जनमोर्चाका उपाध्यक्ष हुन्। चितवन–२ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदै छ। गत मंसीर ४ गते भएको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित रवि लामिछानेको सांसद पद खारेज भएपछि उपनिर्वाचत हुन लागेको हो।
यससँगै जनमोर्चाले महासचिव मनोज भट्टको नेतृत्वमा निर्वाचन परिचालन समिति पनि गठन गरेको छ। २५ सदस्यीय निर्वाचन परिचालन समितिले उपनिर्वाचनमा व्यवस्थित रुपमा प्रचार प्रसार गर्ने जनाइएको छ।
उपनिर्वाचनलाई भण्डाफोर अभियानका रुपमा सञ्चालन गर्ने जनमोर्चाले निर्णय गरेको छ। अमेरिकी प्रभाव र इशाइकरण बढ्दै गएको भन्दै जनमोर्चाले यसका विरुद्ध भण्डफोर अभियानका रुपमा चुनाव प्रचारप्रसारलाई अघि बढाउने जनाएको छ।
