छानविन समितिको निष्कर्ष, आचार्यको ज्यान जानुमा सर्वसाधरण र राज्यको लापरवाही

२९ फाल्गुन २०७९, सोमबार १८:५७

आत्मदाहको पश्चात ज्यान गुमाएका इलामका व्यवसायी प्रेमप्रसाद आचार्यले यस्तो विकल्प रोज्नुमा सर्वसाधरण र राज्यको लापरवाही रहेको छानविन समितिले जनाएको छ । गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद रिसालको संयोजकत्वमा बनेको ६ सदस्यीय समितिले यस्तो निष्कर्ष निकालेको हो ।

घटना पछि सरकारले छानविन गर्न गठन गरेको समितिले अनुसन्धान पूरा गरेर प्रतिवेदन बुझाइसकेको छ । उक्त प्रतिवेदनमा समितिले आचार्यको आत्मदाहको घटनामा राज्यसँगै सर्वसाधरण नागरिकको पनि चरम कमजोरी रहेको बताएको हो ।

सर्वसाधरणले प्राप्त सूचनालाई प्रहरीसम्म नपुर्याउनु र सुरक्षा निकायले पनि यसलाई समयमै रोक्न नसक्नुलाई समितिले मुख्य कमजोरी मानेको छ । यसमा राज्य आफ्नो नागरिकलाई सुरक्षा दिनुपर्ने कर्तव्यबाट चुकेको जनाइएको छ ।

आचार्यले त्यस्तो प्रयास गरेको अघिल्लो दिन नै केही व्यक्तिलाई इमेलमार्फत सबै विवरण पठाएका थिए । यसरी अघिल्लो दिन नै विवरण पठाउँदा पनि उक्त सूचना प्रहरीसँग नपुर्याउनु र राज्यका खुफिया संयन्त्रले पनि यसको जानकारी नपाउनुलाई सर्वसाधरण र राज्यकै कमजोरी मानिएको छ ।

यतिमात्रै होइन, आचार्यले आत्मदाह गर्ने दिन एक घण्टा अघि आफ्नो समाजिक सञ्जाल फेसबुकमै लामो सुसाइड नोटसमेत सार्वजनिक गरेका थिए । यत्ति गर्दासमेत आफन्त तथा साथिभाइहरूले यो खबर न प्रहरीसम्म पुर्याउने कोशिश गरे न त सुरक्षा निकायले नै प्राप्त गरे ।

नागरिकको सुरक्षा राज्यको प्रथम दायित्व भएपनि यसमा राज्य चुकेको प्रतिवेदनले जनाएको हो । घटना भइसकेपछि कसरी उद्धार गर्ने भन्ने विषयमा पनि फिल्डमा खटिएका सुरक्षाकर्मी र सर्वसाधरणसमेत अलमलमा परेको देखिएको छ । यसले विपद् उद्धारको सामान्य ज्ञान समेत नभएको र त्यहीं गुडिरहेको सवारीमै भएको फायर इक्सटिंगिसर वा अन्य साम्रगी पनि प्रयोग हुनु नसकेकोबारे प्रश्न गरिएको छ ।

घटना भइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सवारी चलिरहेको थियो । तर अति विशिष्ट सवारी भएको अवस्थामा समेत पर्याप्त मात्रामा सुरक्षाकर्मीहरू तयार अवस्थामा रहन नसकेकोबारे समितिले प्रश्न उठाएको छ । त्यस्तै घटनास्थलमा उद्धारकर्ममा लाग्नुको साटो सर्वसाधरणहरू फोटो खिच्नतिर लागेको दृश्यले मानवीय संवेदनाको स्तर खस्कदैं गएकोमा पनि समितिले प्रश्न उठाएको छ ।

३७ वर्षिया आचार्यले गत १० माघमा दिउँसो ३ बजे आत्मदाहको प्रयास गरेका थिए । घटनापश्चात कीर्तिपुर बर्न अस्पताल लगिएको उनको उपचारको क्रममा मृत्यु भएको हो ।