अमेरिकामा लगातार तीन बैंक बन्द,बैंकिङ संकट

२९ फाल्गुन २०७९, सोमबार १४:११

अमेरिकामा लगातार तीनवटा बैंक बन्द भएका छन् । क्रिप्टो मुद्रालाई बढावा दिने सिल्भरगेट क्यापिटल कोर्प बैंक र एसभीबी फाइनान्सियल ग्रुपको सिलिकन भ्याली बैंक बन्द भएको केही समयमै सिग्नेचर बैंक आइतबार बन्द भएको हो ।

लगातार बैंक बन्द हुन थालेपछि यसले अमेरिकामा बैंकिङ संकट बढेको आभाष हुन्छ । ब्लुमबर्गका अनुसार लगातार दुईवटा बैंक बन्द भएपछि गत शुक्रबार निक्षेपकर्ताहरूले आफूले जम्मा गरेका रकम बैंकबाट धमाधम निकाल्न थाले ।

यसरी देशभरबाट भुक्तानीको माग ह्वात्तै बढेपछि निक्षेप निकासी धान्न नसकेर अमेरिकी बैंकहरू बन्द हुन थालेको बताइएको छ । सिल्भरगेट क्यापिटल र सिलिकन भ्याली बैंक बन्द हुँदा सिग्नेचर बैंक दबाबमा परेको थियो । यसरी पैसा निकाल्ने जमात बढ्दै गएपछि संघीय राज्यका नियामक निकायहरूले उक्त बैंकलाई संकटबाट बचाउन भन्दै बन्द गरिदिएको हो ।यद्यपि सोमबारबाट सो बैंकबाट भुक्तानी सुविधा लिन सकिने बताइएको छ । वित्तिय क्षेत्रको नियामक संस्था फेडरल इन्स्योरेन्स डिपोजिट कर्पोरेशनले सिग्नेचर बैंकका सबै निक्षेपहरू र सबै सम्पत्तिहरू पठाइएको जानकारी दिएको छ ।