नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले एमाले र कांग्रेस संगै हुन सक्ने बताएका छन् । उनले संचार माध्मयमा बोल्दै यस्तो बताएका हुन् ।
पहिलो संविधानसभा निर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकारको नीति तथा कार्यक्रममा जनयुद्ध शब्द प्रयोग गर्दा त्यो पदावली हटाइयोस् भनेर आफूले नेपाली कांग्रेसको तर्फबाट संशोधन प्रस्तुत गरेको बताए। नेता डा.रिजालले भने, “अहिले फेरि प्रचण्डले त्यो पदावली कांग्रेसले पनि स्वीकार गर्छ वा संक्रमणकालीन न्यायका काम पूरा गर्न उहाँले देखेको बाटोबाट हिंड्नुपर्छ वा नेपालको राजनीति माओवादीका कारण यहाँसम्म आएको हो, अरु विषय प्रमुख थिएन भन्ने व्याख्या गर्नुभयो भने त्यो राजनीतिलाई बोकिराख्न कांग्रेसलाई कठिनाइ हुन्छ। सबै नेताहरूले धोका दिन्न भन्ने सोचे पनि कांग्रेसले त्यो राजनीतिलाई लामो समयसम्म बोक्न सक्दैन। म कांग्रेसको मान्छे हुँ र कांग्रेसका मान्छेहरूको सोचको प्रतिनिधित्व गर्छु। कांग्रेसको तलसम्मको राजनीतिको भाव हो।”
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको मान्छे राष्ट्रपति बनेमा प्रधानमन्त्री पदमा रहेर पनि काम गर्न नसक्ने अवस्था आउन सक्ने भएकाले प्रचण्डले एमालेसंगको गठबन्धन तोडेको उनले बताए । उनले भने, “त्यसैले कांग्रेसको तर्फबाट धोका नहोस्, उहाँले चाहेको हाम्रो प्रतिबद्धता पनि पूरा होस्। देश अस्थिरताको चक्रव्यूहमा नपरोस् र गठबन्धनको सोचअनुसार कम्तीमा पाँच वर्ष देश चलोस्। यसका लागि १२ बुँदे समझदारी, विस्तृत शान्तिसम्झौता र संविधानलाई केन्द्रमा राख्ने राजनीतिलाई बोक्नुपर्छ। तत्कालीन माओवादी र सात राजनीतिक दल (कम्तीमा त्यसको मूल नेतृत्वमा रहेको नेपाली कांग्रेस र माओवादी) को साझा राजनीति नै अहिलेको गठबन्धन राजनीति हुनुपर्छ।
त्यसैले प्रचण्डजीले यही भावलाई मूल राजनीति भनेर बुझेको दिनसम्म राष्ट्रपति रामचन्द्र पौडेल उहाँको सबैभन्दा बलियो सहयोगी बन्नुहुन्छ। त्यसो गर्नुभएन भने राष्ट्रपतिबाट सहयोग खोज्नु र कांग्रेसबाट समर्थन पाइराखिन्छ भन्नु अनुचित हुन्छ। शान्ति प्रक्रियाका बाँकी काममा मूलतः कांग्रेस, माओवादी र नेपाली सेनाको विशेष‘स्टेक’ छ।
त्यसैले सँगै बसेर हिंड्न सजिलो होला। संक्रमणकालीन न्यायका कामलाई टुंग्याउने र देशलाई शान्ति, सुशासन र समृद्धिको यात्रामा लैजाने हो भने यस्तो राजनीति सिर्जना गर्नुभएन, जसले गर्दा एजेन्डागत रूपमा एमाले र कांग्रेस सँगै उभिनुपरोस्।
यस्तो बाध्यतात्मक अवस्था बन्यो भने एमाले र कांग्रेस एक ठाउँमा उभिनुपर्ने हुनसक्छ। फलस्वरूप प्रधानमन्त्री र माओवादीबाट कांग्रेस अलग हुनुपर्ने अवस्था सृजना हुनसक्छ। त्यसैले प्रधानमन्त्रीले शान्ति प्रक्रिया मात्र होइन, मुलुकको राजनीतिलाई सञ्चालन गर्दा सात दल र माओवादीले साझा रूपमा समातेको बाटोमा हिंड्नुभयो भने कहीं कठिनाइ हुन्न।
आज एमालेमा विकास भएको प्रतिशोधको भाव पनि मत्थर हुँदै जान्छ। अर्को बाटो हिंड्नुभयो भने एमालेले पनि धोकाको बदला धोका भन्ने बाटो लिन सक्ला, कांग्रेसले पनि प्रचण्डको त्यो बाटोलाई थेग्न नसक्ला। यसले प्रचण्डजीलाई प्रधानमन्त्री भइराख्न पनि कठिनाइ होला। योभन्दा ठूलो कुरा मुलुकमा थप अप्ठ्यारो राजनीतिको सिलसिला सुरु हुन्छ र हामीले झन् बढी दुःख पाउँछौं।”
