आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ ग्रहणगरेकी छिन्। राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीलाई आइतबार औपचारिक रूपमा बिदाइ गरिएको हो ।
उनी आज (सोमबार) शीतल निवासबाट आफ्नो निवासमा सर्दै छिन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज (सोमबार) पद तथा गोपनीयताको शपथग्रहण गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको चौथो राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् ।
प्रथम राष्ट्रपति डा. रामवरण यादव झन्डै आठ वर्ष र राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो र तेस्रो कार्यकालका लागि सात वर्ष गरी १५ वर्ष राष्ट्र प्रमुखको दायित्वमा रहे। १५ वर्षसम्म राष्ट्रपति संस्था, राष्ट्रपतिमा आएका दुई जनाको भूमिकाबारे प्रशंसा र आलोचना हुँदै आएका छन् ।
राष्ट्रपतिको भूमिका कस्तो हुनुपर्छ भन्ने जिज्ञासामा प्रथम राष्ट्रपति डा. यादवले बुँदागत सुझावसहित अभिभावकीय भूमिकाप्रति उच्चतम नैतिकता प्रस्तुत गर्न आग्रह गरेका छन्। उनले संविधान निर्माणपछि राष्ट्रप्रमुखको दायित्वलाई राम्ररी बुझ्ने व्यक्तिले यो जिम्मेवारी पाएकाले आफू आशावादी रहेको बताए ।
