छक्कापञ्जा ४ ले हिन्दी र अंग्रेजी फिल्मलाई फ्लोप गराउर्दै

२८ फाल्गुन २०७९, आईतवार २२:०५

नेपाली चलचित्र ‘छक्कापञ्जा ४’ले मध्यपूर्वमा पहिलो सप्ताहन्त आक्रामक ओपनिङ गरेको छ । यूएई, कतार, ओमान र बहराइनमा फिल्मको सप्ताहन्त अकुपेन्सी शतप्रतिशत देखिएको छ । गत शुक्रबारदेखि यो फिल्म ती मुलुकका ५० पर्दामा रिलिज भएको हो ।

बलिउड र हलिउडको परम्परागत बजार मानिएको मध्यपूर्वमा ‘छक्कापञ्जा ४’लाई स्थानीय मल्टिप्लेक्स हलहरुले आकर्षक संख्यामा शोहरु दिएका छन् । १८ अडिटोरियम भएको दुबईको स्टार सिनेमाज् मल्टिप्लेक्सले छक्कापञ्जालाई १२ शो दिएको छ । यो शो संख्या उक्त हलमा रणवीर कपुर स्टारर बलिउड फिल्म ‘तु झूठी मैं मक्कर’ भन्दा पनि उच्च हो ।

दुबईको भक्स सिनेमा मल्टिप्लेक्समा पनि फिल्मको अकुपेन्सी राम्रो देखिएको छ । यूएईको राजधानी अबुधाबीको इलेक्ट्रा स्टार र ओस्कार सिनेमा मल्टिप्लेक्सले पनि १०–१० भन्दा बढी शो दिएका छन् । कतार, बहराइन र ओमानका हलमा समेत फिल्मको सप्ताहन्त ओपनिङ आक्रामक देखिएको फिल्मका मध्यपूर्व वितरक रमेश ढकालले जानकारी दिए ।

उनका अनुसार पहिलो दिन बिहीबार नै फिल्मले चार मुलुकबाट एक करोड रुपैयाँ कमाइ गरेको छ । ‘चलिरहेका हिन्दी र अंग्रेजी फिल्ममा भन्दा छक्कापञ्जा ४ मा दर्शकको चाप उच्च देखिएको वितरक ढकालले बताए ।