यो गठबन्धनले ५ वर्ष सरकार चलाउँछ डेलिभरीको जिम्मा हाम्रो हो–गगन थापा

२८ फाल्गुन २०७९, आईतवार १६:२८

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलहरू खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न आग्रह गरेका छन्। आइतबार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार बन्ने कुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने बताए। उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरूको क्लबबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहे पनि सरकारले नागरिकलाई सेवासुविधाहरू दिन सक्नुपर्ने बताए।

अहिलेको गठबन्धनको सरकार भन्ने हो भने त चुनावअघि पनि यही थियो । व्यक्तिकै कुरा गर्ने हो भने पनि आखिर नेपालमा पूर्वप्रधानमन्त्रीहरूको क्लबबाट नै आलोपालो प्रधानमन्त्री हुने हो । त्यसमा पनि अहिले नयाँ स्वाद आइहाल्छ भनेर अनुमान लगाउने कुरा पनि भएन । त्यसैले नागरिकलाई अहिले भएको राजनीतिक घटनाक्रमको विकासले कति धेरैलाई छुन सकेका छौँ भन्ने यो प्रश्न हामीले सोच्नुपर्छ, उनले भने।