नेपालले दियो युएईलाई २ सय ४९ रनको लक्ष्य

२८ फाल्गुन २०७९, आईतवार १३:४२

नेपालले दियो युएईलाई २ सय ४९ रनको लक्ष्य आइसिसी विश्वकप लिगं-२ अन्तर्गतको घरेलु सिरिजको दोस्रो खेलमा युएईविरुद्ध नेपालले २ सय ४९ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २४८ रन बनाउन सफल भएको हो।

नेपालको मध्यक्रमले उत्कृष्ट प्रदर्शन गर्दा नेपाल कमजोर अवस्थाबाट बलियो अवस्थामा पुग्न सफल भयो। तर अन्तिम केहि ओभरमा नेपाल लगातार विकेट गुमाउन पुग्दा थप उच्च योगफलमा पुग्ने मौका गुमाएको थियो।टियु मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २२ रन बनाउँदानै आफ्ना महत्वपूर्ण ३ विकेट गुमाएको थियो। तर कप्तान रोहित पौडेलको संयमित ७७ रनको इनिङ र मध्यक्रमले समालिएर दोहोरो स्कोरमा रन बनाएपनि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य बनाउन सफल भयो।

नेपालका लागि कप्तान पौडेलले भिम सार्कीसँग चौंथो विकेटका लागि ५४ रनको साझेदारी गरेका थिए। सार्की २९ रनमा आउट भएका थिए। त्यस्तै पौडेलले आरिफ शेख सँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरे। रोहित ११२ बलमा ९ चौका प्रहार गर्दै ७७ रनमा आउट भएका थिए। उनले करिअरको ८ औ अर्धशतक प्रहार गर्न सफल भए। उनी सर्वाधिक अर्धशतक प्रहार गर्ने नेपाली ब्याटर समेत बने।

त्यस्तै नेपालको इनिङमा आरिफ शेखको ४३ रन महत्वपूर्ण रह्यो। उनले ५२ बलमा ४ चौका प्रहार गरे। त्यस्तै गुल्न झाले ३२ बलमा ३७ रन बनाउँदा १ चौका र ३ छक्का प्रहार गरेका थिए। आठौ नम्बरमा ब्याटिङका लागि आएका दिपेन्द्र सिंह ऐरीले १९ बलमा ३४ रनको विष्फोटक इनिङ खेले।

त्यसअघि शुरुवाती क्रममा कुशल मल्ल ९ रनमा आउट हुँदा कुशल भुर्तेल ८ रनमा पेविलियन फर्किएका थिए। त्यस्तै ओपनर आसिफ शेख शुन्य रनमा आउट भएका थिए।

युएईका लागि आयान अफ्जाल खान, रोहन मुस्ताफा र जवार फारिद र जाहुर खानले समान २(२ विकेट लिएका थिए।