जनमत पार्टीका अध्यक्ष सीके राउतले उपराष्ट्रपतिमा आफूहरूले उम्मेदवारी फिर्ता नलिने बताएका छन्।
शनिबार पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले गठबन्धनको निर्णय अनुसार नै फरकफरक उम्मेदवारी परेको बताए।
उनले गठबन्धनमा छलफल जारी रहेको र चाँडै सहमति हुनसक्ने सम्भावना देखाए। तर, आफूहरूको उम्मेदवारी फिर्ता नहुने पनि दोहोर्याए। आफ्नो उम्मेदवारीमा सहमति नभए गठबन्धनबाट बाहिरिनुहुन्छ कि भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘उम्मेदवारीलाई लिएर गठबन्धनबाट बाहिरिँदैनौँ। मित्रवत् प्रतिस्पर्धा गर्छौं।’
ममता झाको पक्षमा गठबन्धनकै जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी एक ठाउँमा उभिएका छन्। राउतले भने गठबन्धनमा छुट्टै मोर्चा नबनाएको बताए। ‘उपराष्ट्रपतिमा महिला हुनुपर्छ र संविधानको मर्म पनि त्यही हो’, उनले भने। उनले आफूहरू अधिकार र संघर्षको लडाइँमा रहेको सुनाए।
झाको प्रस्तावकमा अब्दुल खान, अनिता देवी, गंगाराम चौधरी, अविराम शर्मा र रूपा कुमारी यादव छन्। त्यस्तै, समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह, वसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी र रानीकुमारी तिवारी छन्।
यस्तै १० गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादवको उम्मेदवारी दर्ता भएको हो ।
