भारतको मध्य प्रदेशमा रहेको खाडगोनमा एक व्यक्तिले बाघको पुच्छर छुदा ज्यान गुमाएका छन्। सन्तोष नामक ती कृषकले गाउँमा आइपुगेको बाघको पुच्छरमा लट्ठी हानेका थिए । बाघले कस्तो प्रतिक्रिया जनाउँछ भनी उनले हिर्काएको वन अधिकारीहरूले बताए ।
त्यसपछि बाघले उनको गर्दनको पछिल्लो भागमा झाप्पु हानेर गहिरो घाउ बनाइदियो । सन्तोषलाई अस्पताल लगिएको थियो र उनको मृत्यु त्यहीँ भयो । आक्रमण गर्ने बाघ त्यहाँबाट जंगलतर्फ भाग्यो । त्यसलाई पत्ता लगाउन सकिएको छैन । वन विभागले गाउँलेहरूलाई जंगलतर्फ नजान र बाघलाई नचलाउन आग्रह गरेको छ ।
उक्त बाघ महाराष्ट्रको यवाल वन्यजन्तु आरक्षबाट खाडोगनमा रहेको चिडिया वन परिसरमा आइपुगेको वन अधिकृतहरू बताउँछन् । बाघ ठूलो शिकार गरेर आराम गरिरहेको बेलामा गाउँलेहरू त्यसलाई सताउन पुगेका थिए । त्यसैक्रममा सन्तोषले बाघको पुच्छरमा लट्ठी हिर्काउँदा बाघले सांघातिक आक्रमण गरेको थियो । एजेन्सी
